खाँडादेवीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी सार्वजनिक सुनुवाई

रामेछाप । २०७९ असार ३ गते

खाँडादेवी गाउँपालिका–६ मा स्थानीय स्तरको योजना सङ्कलन तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम ०७८ असार ३ गते सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको सहजिकरणमा भएको कार्यक्रममा सहभागीले शिक्षा स्वास्थ्य, कृषि, आयआर्जन, पर्यटन प्रवर्धन लगायतको क्षेत्रमा काम गर्न स्थानीय तहलाई सुझाव दिएका छन् । सार्वजनिक सुनुवाईमा वडाध्यक्ष नारायण कार्कीले टोल टोलमा स्वास्थ्यकर्मी, आवश्यकताको आधारमा ठाउँ ठाउँमा गाउँघर क्लिनिकको भवन निर्माण गर्ने कार्यक्रम अघि बढाउने बताउनुभयो । यसैगरी सो वडाको स्वास्थ्य चौकी भवन आवश्यक प्रक्रिया पुरा गरी तत्काल निर्माणको काम अघि  बढाउने र स्वास्थ्य सेवालाई प्रभाकारी बनाउने उहाँले बताउनुभयो । खानेपानीको पुराना संरचना मर्मत गर्ने, कुवा, पुराना धारा तथा पानीका मुहान संरक्षण गर्ने, आहाल र पोखरी मर्मत तथा थप निर्माण गर्ने, दलित बस्तीमा सडक, विद्युत् लाइनको व्यवस्थापन खानेपानी लगायतका पूर्वाधार र आयआर्जनका कार्यक्रममा केन्द्रित हुने वडाअध्यक्ष कार्कीले बताउनुभयो । हरेक बस्तीमा एक आराम कक्ष निर्माण गर्ने पनि उहाँले बताउनुभयो । वडा अध्यक्ष कार्कीले घरेलु तथा कृषि उत्पादनलाई प्रोत्साहित गरी घरेलु उत्पादनको बजारीकरण व्यवस्था मिलाउने, समूह र सहकारी मार्फत गरिने कृषि, पशुपालन र उद्योगलाई अनुदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले माकादुमका जनतालाई दुई छाक खान नपुगुन्जेल विकास बजेट यताउति हुन नदिने बताउनुभयो । आफूले राज्यले दिने कुनै सुविधा नलिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँ कार्यपालिका सदस्य गोपाल नेपालीले नागरिक स्तरबाट आएका सुझाव कार्यान्वयनको लागि कार्यपालिकामा आफूले सशक्त आवाज उठाउने बताउनुभयो । उहाँले स्थानीयका समस्यालाई प्रथमिकीकरण गरी आवश्यकताको आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय लालबहादुर रसाइलीले बस्तीका समस्यालाई हेरेर नीति तथा कार्यक्रम बनाउन सुझाव दिनुभयो । अर्का सहभागी खुमबहादुर खत्रीले बारम्बार सिँचाइका योजनाको रकम कटौती भएको भन्दै सिँचाइलाई प्राथमिकतामा राखी योजना बनाउन सुझाव दिनुभयो । स्थानीय सङ्गीता  विकले दलित बस्ती सधैँ उपेक्षामा परेकोले दलित बस्तीमा खानेपानीको योजना माग गर्नुभयो । कार्यक्रममा सहभागी ध्रुवबहादुर नेपालीले दलित सहभागिता खोइ ? भन्दै दलितको समावेशी सहभागितामा जोड दिनुभयो । कार्यक्रममा राधिका बुढाथोकीले गाउँपालिको बजेटबाट खनिएको सडकमा हिँड्न समेत रोक लगाएको भन्दै त्यसमा जनप्रतिनिधिलाई ध्यान दिन आग्रह गर्नुभयो । यसैगरी ईश्वरी खत्रीले नयाँ बस्तीमा विद्युत् विस्तारको माग गर्नुभयो । कार्यक्रममा स्थानीय कुलविक्रम कार्कीले सामुदायिक वनको जग्गा मिच्ने क्रम बढेकोले वनको जग्गा छुट्याउनु पर्ने माग गर्नुभयो । पूर्व गाविस अध्यक्ष लक्ष्मण केसीले पानीका मुहान संरक्षणको लागि रिचार्ज पोखरी संरक्षण र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नवराज पथिक