खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँ । २०७७ माघ १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह भानुको संयोजनमा खाद्यको अधिकार सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम माघ १४ गते भानु–९ को वडा कार्यालय बाईसजाँगरमा सम्पन्न भयो । कार्यक्रममा वडाध्यक्ष निलन सन्जिवा श्रेष्ठले नगरपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखे पनि त्यसकोलागि बजेट भने पर्याप्त छुट्याउन नसकिएको बताए ।
गत वर्ष नगरपालिकाले नै कृषि तथा पशु सम्बन्धी कार्यक्रम छनौट गर्दा सबै वडाका प्राथमिकतामा परेका क्षेत्र नसमेटिएको हुँदा यसै आर्थिक वर्ष देखि वडा स्तरबाट नै कार्यक्रम छनौट गर्न प्रत्येक वडालाई १५ लाख रुपियाँ विनियोजन गरेको भएपनि प्राकृतिक विपत्तिमा परेकालाई राहत दिन उक्त रकमबाट ५ लाख रुपियाँ काटिएको वडाध्यक्ष श्रेष्ठले बताए । बाँकी रहेको १० लाख रुपियाँ कृषकहरुमाझ लैजाँदा केही उपलब्धी नदेखिएको उनको भनाइ थियो ।
वडाध्यक्ष श्रेष्ठले कृषकहरु व्यसायिक हुनुपर्ने भन्दै त्यसकोलागि नगरपालिकाबाट हुने सहयोग गर्न तयार रहेको बताए । हरेक वडाका कृषि तथा पशु सेवाको प्राविधिकहरु नियुक्ती, आलुको बिउमा अनुदान, प्लाष्टिक टनेल निर्माण, धानको बिउमा अनुदान, घाँसको बिउमा अनुदान, सुत्केरी भैसीलाई भत्ता लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा जैविक विविधता संरक्षण समितिका अध्यक्ष विकलराज अधिकारीले रैथाने बालीको संरक्षण गरी जैविक विविधताको संरक्षण गरिनुपर्ने र त्यसकोलागि नगरपालिकाले नीति नै बनाउनुपर्ने बताउनुभयो । सो कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख प्रताप पाण्डेले भानु नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरुलाई पनि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
बेमौसमी तरकारी खेती मार्फत कृषकहरुलाई व्यसायीकरण गर्ने, बाख्रा पालन, भैसी पालन र कुखुरा पालन गर्ने कृषकलाई अनुदानको कार्यक्रम, हाते ट्रयाक्टरमा ५० प्रतिशत अनुदान, घाँस खेतीमा सत प्रतिशत अनुदान, भैसी पालनमा कृषकलाई आकर्षित गर्न सुत्केरी भैसीलाई भत्ता लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको बताए । मानव अधिकार समूहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा सदस्य प्रेमबहादुर पाण्डे, कृषक राजन थपलीया, मनबहादुर अधिकारी, मानव अधिकार समूहका सदस्यहरु सीता अधिकारी, रुक्मिणी खनाल लगायतले मन्तव्य राखेका थिए ।
प्रकाशचन्द्र भट्टराई