खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

बाग्लुङ । २०७७ पुस १३ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा खाद्यको अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम जैमिनीमा सम्पन्न भएको छ । ‘मानव अधिकार सम्बद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम’ अन्तरगत जैमिनीमा खाद्यको अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले नगरपालिकाले नगरका कृषकलाई व्यवसायिक कृषि पेशामा लगाउनका लागि कामहरू गरेको बताउनुभयो ।

‘नगरपालिकाले आगामी दिनमा पनि कृषकलाई प्रोत्साहान गर्नका लागि विभिन्न योजनाहरू बनाएको छ ।’–उहाँले भन्नुभयो– ‘नगरका कृषकले उत्पादन गरेका सुन्तला, कागती, मह, कफी र अलैचीलाई कृषकले बिक्री वितरण गर्न नसकेको खण्डमा नगरपालिकाले बिक्री गरिदिने गरेको छ ।’ जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोईरालाले नेपालमा कृषि एकोहोरो भएकाले कृषिलाई विविधीकरण गर्नुपर्ने बताउनुभयो । कृषकलाई एकोहोरो कृषि प्रणालीले निराश गराउने भन्दै कृषकलाई विविधीकरण र व्यवसायिक बनाउनका लागि सबै तहका निकायहरू लाग्नुपर्नेमा कोइरालाले जोड दिनुभयो । जैमिनी नगरपालिका कृषि शाखा प्रमुख नेत्र प्रसाद आर्चायले नगरपालिकाले कृषकलाई व्यवसायिक बनाउनका लागि यो वर्षको कृषि पल्टन र पशु पल्टन योजनालाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

कृषिमा बिउ बिजन, मिनी टेलर हलो, औषधी, मौरीको गोला, कृषि तालिम, फलफूलको विरूवा, टनेल, माटो परीक्षण जस्ता विभिन्न खालको कार्यक्रमहरू रहेको आर्चायले जानकारी दिनुभयो । कार्यक्रममा जैमिनी नगरपालिका–१० राङ्खानीका कृषक केदार आचार्यले नगरपालिकाले कृषकहरूका लागि कार्यक्रम बनाए पनि सम्बन्धित कृषकले त्यसको लाभ नपाएको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाले दिएको अनुदानको नियमित अनुगमन गर्नुपर्ने भन्दै नगरपालिकामा व्यवसायिक कृषकहरू कति छन् र नगरमा कति परिमाणमा कृषि जन्य चिजहरू उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्क पनि राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यम बहादुर जिसीले नगरपालिकाले उत्पादनमा भन्दा खरिदमा जोड दिएको भन्दै आगामी दिनमा कृषकलाई उत्पादनमा प्रोत्साहान गर्नका लागि योजना ल्याउन सुझाव दिनुभयो । मानव अधिकार निगरानी समूहका संयोजक मेघराज ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मानव अधिकार निगरानी समूहका सदस्य हरी प्रसाद शर्माले गर्नुभएको थियो ।

सिर्जना पन्त