खाद्य अधिकारका सवालमा अन्तरक्रिया
झापा । २०७८ कात्तिक १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगर र इन्सेकद्धारा गठित मानव अधिकार समूह अर्जुनधाराको आयोजनामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम कात्तिक १५ गते सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृत चुडामणि निरौलाले मानव अधिकार समूह अर्जुनधाराले तयार पारेको कार्यपत्रका सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको र सोही अनुसार कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।
अन्तरक्रियामा अर्जुनधारा नगरपालिका कृषि शाखा प्रमुख उर्मिला राजवंशीले मानव अधिकार समूह अर्जुनधाराले तयार पारेको कृषकका समस्याहरूको आधारित कार्यपत्रको जवाफ दिनु भएको थियोे । राजवंशीले विगतमा कृषि चुन बाँडिएको र यसपाला पुन वितरण गर्ने जानकारी दिनु भयो । कृषि शाखा प्रमुख राजवंशीले बेमौसमी वर्षातले नगरपालिका क्षेत्रका ९ सय ८४ हेक्टर क्षेत्रफलको धानबाली नष्ट गरेको बताउनु भयो । उहाँले बेमौसमी वर्षाका कारण कृषकहरूले भोग्नु परेको समस्या बारे छलफल गर्दै गाउँपालिकाबाट गरिएका सहयोगको बारेमा जानकारी गराउनु भएको थियो ।
पशु शाखाका प्रतिनिधि वेनुकुमार बस्नेतले पशुको बाझोपनको सिफारिस गरिने गरेको बताउनु भयो । अखिल नेपाल क्रान्तिकारी किसान सङ्घका अर्जुनधारा नगर अध्यक्ष हरि शर्माले नगर क्षेत्रका खोलामा बल्क ड्याम लगाएर काटन रोक्न आग्रह गर्नु भयो । अन्तरक्रियामा अर्जुनधारा नगरपालिका–११ की सीता परियारले किसानले खेतीमा आवश्यक परेको बेला रासायनिक मल नपाएको गुनासो गर्नु भयो । उहाँले वडा–७ का राज खम्बुले पशुपालक किसानले निजी भेटेनरीबाट सेवा लिनुपर्ने बाध्यता रहेकाले पशु शाखाले सेवा दिनुपर्ने माग राख्नु भयो । मानव अधिकार समूहका संयोजक चन्द्रप्रसाद सुवेदीले मानव अधिकार समूह अर्जुनधाराले कृषि र पशु सेवा शाखाले मानव अधिकार समूहले कृषकबाट सङ्कलन गरेको गुनासो सम्बोधन गर्न आग्रह गर्नु भएको थियो ।
नरेश खाती