खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
सुनसरी । २०७८ फागुन १२ गते
भोक्राहा नरसिंह गाउँपालिकामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १२ गते सम्पन्न भएको छ । इन्सेकद्धारा गठित मानव अधिकार समूहका सदस्यहरू, जनप्रतिनिधि तथा नागरिक अगुवाहरूको सहभागितामा खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना अन्तरगत खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रियामा भोक्राहा नरसिंह गाउँपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन गरेको कृषि सम्बन्धी कार्यक्रम, नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने, सुझाव सङ्कलन गर्ने तथा समस्या पहिचान गरिएको छ । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका कृषि शाखा प्रमुख रेनुका चौधरीले गाउँपालिकाले तयार गरेको कृषि कार्यक्रम र विनियोजन भएका योजनाहरूको कार्यपत्र पेश गर्नु भएको थियो । कार्यपत्रमा नव प्रवद्र्धन कृषि कार्यक्रम, उद्यमशीलता र व्यवसायिक कृषि कार्यक्रमलाई निरंन्तरता दिई कृषिलाई यान्त्रिककरण गरी व्यवसायिक कृषक अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । पशु विकास शाखा प्रमुख अबदुल कैयुम मियाँले पशुका लागि पनि सङ्घीय सरकारको सशर्त कार्यक्रम रहेको बताउनु भयो । मियाँले नियमित सेवासहित गोबर परीक्षण, बाँझोपन परीक्षण, विभिन्न खोप कार्यक्रम र घासको विऊँ वितरण कार्य हुँदै आएको बताउनु भयो ।
भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले कृषकहरूलाई प्रोत्साहित गर्दै लैजाने खालको कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । कृषिमा यान्त्रिकरण गर्नका लागि मेशिनरी औजार, कृषि औजार, स्प्रे मेसिन, उन्नत जातको विऊ उत्पादनका लागि गहुँको विउँ अनुदानमा वितरण लगायतका कार्य गाउँपालिका सञ्चालन गरिरहेको बताउनु भयो । उपाध्यक्ष मेहताले इन्सेक र मानव अधिकार समूहका यस्ता कार्यक्रम बृहत रूपमा गरिनुपर्ने र अहिलेको कार्यक्रममा थप प्रोत्साहन गरेको बताउनुभयो । कार्यक्रमका सहभागी राजेश मेहताले अनुदानमा वितरण गरिने बिउबिजन समयमा पाउन नसकेको गुनासो गर्दै अनुदान लिएका कृषकहरूको अनुगमन पनि गरिनुपर्ने बताउनु भयो । मेहताले बजारमा अखाद्य वस्तुको विक्रि वितरण भएकाले त्यसमा अनुगमन गर्नुपर्ने सुझाव दिनुभयो । इन्सेकद्वारा भोक्राहा नरसिंह गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहका अध्यक्ष ममता उराँवले इन्सेकले सुनसरीको दुई ओटा स्थानीय तहका विभिन्न वडाहरूमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमहरू गर्दै आएको र कार्यक्रमका माध्यमबाट समस्या पहिचान गर्न सजिलो भएको बताउनु भयो । भोक्राहा नरसिंह गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र यादवले इन्सेकले आयोजना गर्ने छलफल कार्यक्रमहरू निकै आवश्यक र प्रभावकारी रहेको बताउनु भयो ।
भोक्राहा नरसिंह गाउँपालिका–६ का वडाध्यक्ष राजेश्वरप्रसाद साहले इन्सेकको कार्यक्रम निकै प्रभावकारी रहेको बताउनु भयो । साहले मानव अधिकार समूहले आयोजना गर्ने शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा कार्यक्रमहरू प्रभावकारी भएको बताउनु भयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुनसरीका प्रमुख काशीनाथ घिमिरेले जनप्रतिनिधि,सरोकारवाला र प्रभावित पक्षलाई एक ठाँउमा राखी इन्सेकले कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी भएको बताउनु भयो । अधिकारकर्मी आफिया बानोले बजार अनुगमनको अभावमा गुणस्तरीय समाग्री उपभोगमा समस्या रहेकाले बजार अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको थियो । अधिकारकर्मी राजेश मेहताले सबै खाले व्यवयासी, किराना, खाद्य तथा अन्य पसलमा खाद्य स्वछता र गुणस्तर कायम राख्न अभिमुखीकरण कार्यक्रम प्रभावकारी भएको बताउनु भएको छ ।
जयकृष्ण यादव