खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर । २०७७ कात्तिक २३ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समूहको सहकार्यमा (इएलपी) परियोजना अन्तर्गत खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते कृष्णपुर नगरपालिकामा सम्पन्न गरिएको छ । कार्यक्रममा कृष्णपुर नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले किसानहरूलाई यहि महिनाभित्र आवश्यक मात्रामा मल उपलब्ध गराउने प्रतिबद्घता जनाउनु भएको छ ।

सहकारीहरूमार्फत वितरण गर्ने मल सम्पुर्ण किसानहरूले पाउनुपर्ने बताउँदै कसैले नपाएमा नगरपालिकामा जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ । श्री कृष्ण एकता कृषि सहकारी संस्थाका अध्यक्ष पशुपती रावलले यस क्षेत्रका किसानहरूको उत्पादन सानोसानो परिमाणमा हुने भएकाले स्थानीय स्तरमा बजारको समस्या रहेको बताउनुभयो ।

स्थानीय केरा व्यवसायी महंगी चौधरीले २ बिगाह क्षेत्रफलमा केरा खेती गरेको बताउँदै आवश्यक मात्रामा मल नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले नगरपालिकाले बजार अनुगमनमा चासो नदिएको गुनासो समेत गर्नुभयो ।

कोमलनिरञ्जन भाट