खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दोलखा । २०७८ कात्तिक १३ गते
मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूहसँगको सहकार्यमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते कालिञ्चोक गाउँपालिकामा सम्पन्न गरियो ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको सो कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष जितबहादुर तमाङको अध्यक्षता तथा कालिञ्चोक गाउँपालिकाका कृषि शाखा प्रमुख मिरा खुलाल, मानव अधिकार समूहका पदाधिकारी तथा सदस्य र अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय तहको खाद्य सुरक्षाको अवस्था, कृषि क्षेत्रको प्राथमिकता र कृषि क्षेत्रमा विनियोजित बजेटका विषयमा छलफल भयो । कालिञ्चोक गाउँपालिका कृषि शाखा प्रमुख मिरा खुलालले खाद्यको अधिकारसम्बन्धी संवैधानिक व्यवस्था, विद्यमन नीति र प्रावधानका विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा अगुवा कृषकहरूले स्थानीय तहका कृषिमा बजेट विनियोजन गर्दा ध्यान नदिएको, जङ्गली जनावर र बाँदरका कारण स्थानीय कृषि पेशाबाट विस्थापित बन्नु परेको र कृषकले गरेको तरकारी तथा फलफुल अन्न बाली जस्तैः खुर्सानी, कोदो, सुन्तला, आलुलगायतका खाद्यबाली र नगदेबालीमा किरा लाग्ने र बोटमै मर्ने सुक्ने जस्ता रोग देखा परेको कृषक हरुको गुनासो रहेको जानकारी गराएका थिए ।
अगुवा कृषकका तर्फबाट कृष्ण शिवाकोटीले गाउँपालिकाले आधुनिक कृषि प्रणालीको नारा दिएपनि बजेट विनियोजनमा भने कन्जुस्याइँ गरेका गुनासो गुर्नभयो । उहाँले खाद्य सुरक्षाको सुनिश्चितता कृषि क्षेत्रबाट हुने भएकाले स्थानीय तहको धेरै क्षेत्र कृषिले ओगटेको तर बजार अभाव, अनुदानबाट वञ्चित भएका कारण धेरैले यो पेशाबाट हात झिक्नु परेको औँल्याउनुभयो । यस्तै कृषकहरूले समयमा मल बिउ लगायतका सामग्री नपाउँदा थप समस्या भएको गुनासो गरेका छन् । कस्ता गैर कृषकले समूह बनाएर अनुदान पाउँछन् वास्तविक किसानले कृषिमा अनुदानको व्यवस्था भएकोबारे जानकारी समेत नहुने भएकाले वास्तविक किसानको पहिचान गरेर अनुदान उपलब्ध गराउन माग गरे । कार्यक्रममा कालिञ्चोक गाउँपालिका कृषि शाखा प्रमुख मिरा खुलालले कृषकबाट आएका गुनासो आगामी दिनमा सम्बोधन गरी बजेट विनियोजन गर्ने प्रतिबद्धाता व्यक्त गर्नुभयो ।
गत आर्थिक वर्षभन्दा यस वर्ष कृषि क्षेत्रको बजेट कटौती भएको अन्य योजना जस्तै कृषि लगायतका कृषकसँग सिधै जोडिने योजना समेत वडाबाटै किटानी भई आउने कृषि शाखा प्रमुख खुलालले जानकारी गराए । स्थनीय तह परिचालनसँगै पालिकाका सबै अगुवा कृषकलाई आधुनिक कृषितिर उत्प्रेरित गरिएको, नगदेबाली गर्ने कृषकलाई बजार पहँुच कार्यक्रम र बाँझो जग्गामा खेती गर्नेलाई प्रविधि हस्तान्तरण र अनुदानको व्यवस्था गर्ने कार्यक्रम यस वर्षदेखि सञ्चालन गरिने साथै जङ्गली जनावार (बाँदर) नियन्त्रणका लागि स्थानीय तह भित्रका व्यक्तिहरुलाई नक्कली भरुवा बन्दुक वितरण गरिएको कृषि शाखा प्रमुख खुलालले बताउनुभयो ।
उद्धव पोखरेल