खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बीच अन्तरक्रिया सम्पन्न
दोलखा । २०७८ चैत १८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०७८ चैत १७ गते भीमेश्वर नगरपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा खाद्य अधिकारसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाहरूका बारेमा सहभागीहरूलाई इन्सेक सहजकर्ता शुसिला प्रशाईले खासगरी भीमेश्वर नगरपालिकाको खाद्य अधिकारको अवस्थाबारे जानकारी गराउँदै कार्यक्रमको छलफल गराउनुभयो । कार्यक्रममा सहभागीहरूले गाउँ तथा बजारका पसलहरूबाट म्याद गुज्रेका खाद्य वस्तुहरूको बिक्री वितरण हुने हुँदा नागरिकको स्वास्थ्य र खाद्यको अधिकार संरक्षणका लागि बजार अनुगमन कमै हुने गरेको, वास्तविक कृषकहरूलाई कृषिसम्बन्धी सूचनाहरूको पहुँच नपुगेको, कृषि उपजमा प्रयोग गरिने रासायनिक मल तथा विषादीको बारेमा जानकारी नगराउँदा जथाभावी किटनाशक औषधीको प्रयोग हुने गरेको तथा कृषिका लागि भीमेश्वर नगरपालिकावाट बार्षिक दुई प्रतिशतभन्दा कम बजेट बिनियोजन गरिएको गुनासो गरेका थिए ।
साथै सहभागीहरूले पालिकाले उत्कृष्ट कृषकहरूलाई सम्मान र पुरष्कृतका कार्यक्रम राखिनुपर्ने, कृषि विमाका बारेमा कृषकलाई जानकारी दिनुपर्ने, खाद्य सुरक्षा र सम्प्रभुतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका कार्यक्रम राख्न सुझावहरू पनि दिएका थिए । कार्यक्रममा भीमेश्वर नगर उपप्रमुख तथा बजार अनुगमन समितिको संयोजक कमला बस्नेतले कृषि उपजमा प्रयोग गरिने रासायनिक मल तथा विषादीहरूको सट्टामा प्राङ्गारिक मल र घरेलु औषधिहरूको प्रयोग बढाउने भीमेश्वर नगरपालिकाको आगामी वर्षको कार्यक्रमा समेटिने, बजार अनुगमन प्रभावकारी बनाईने, आधुनिक खेतिप्रणालीको बिस्तार, कृषि बिमाका लागि नागरिक सचेतना कार्यक्रमलाई प्राथमिकता दिईने बताउनुभयो । भीमेश्वर नगरपालिका कृषि शाखा प्रमुख मेनुका घिमिरेले कृषि प्रधान देशमा स्थानीय सरकारले कृषिमा बजेट बिनियोजन कमी गर्दा अपेक्षित उपलब्धि हुन नसकेको बताउंनुभयो । वास्तविक किसान पहिचान गरी पुरस्कार र अनुदानको व्यवस्था गर्न सके जीविकोपार्जनमूखी खेती प्रणालीलाई व्यवसायिकर्फ लैजान सकिने पनि उहाले बताउनुभयो ।
उद्धव पोखरेल