खाद्य तथा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

डोटी । २०७७ मङ्सिर २५ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत खाद्य तथा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते पुर्बिचौकी गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेकद्वारा पुर्बिचौकी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समुहको आयोजना तथा  पुर्बिचौकी गाउँपालिकाको समन्वयमा खाद्य तथा आवासको  अधिकारसम्बन्धी सरोकारवालासँग  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  हो ।

कार्यक्रममा पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले खाद्य तथा आवासको अधिकारका सवालहरुलाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै कृषकहरुलाई पटकपटक तालिम दिइएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘बजारमा म्याद सकिएका अखाद्य बस्तुको अनुगमन गर्न जरुरी छ । त्यसका लागि पहलकदमी अगाडी बढाउछु ।’ पुर्बिचौकी गाउँपालिका कृषी इकाइ प्रमुख उदैराम साउदले कृषकहरुलाई  मलखाद तथा बिषादीमा अनुदान प्रदान गर्दा  कृषकको मनोबल बढने हुँदा गाउँपालिकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

 

पुर्बिचौकी गाउँपालीका पशु शाखा प्रमुख शंकर साउदले बजारमा सञ्चालनमा रहेका मासु पसलहरुलाई व्यवस्थित बनाउनु पर्ने र मासु पसल सञ्चालन गर्ने व्यवसायीलाई सरसफाईसम्बन्धी परामर्स तथा तालिम दिन आवश्यक भएको बताउँदै बजारमा म्याद नाघी आएका बस्तुहरुको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाउनु पर्ने  बताउनु भयो । मानव अधिकार समुहकी संयोजक गङ्गा बिकले  गाउँपालिकाले नागरिकका आधारभूत अधिकारहरुको संरक्षण र परिपुर्तिका लागि जिम्मेवार भएर लाग्नु पर्ने बताउँदै मानव अधिकार समुहले सञ्चालन गरेको मानव अधिकार अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको थियो 

बासुदेब जोशी