गण्डकीमा ६ महिनामा २ सय ४४ मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना
कास्की । २०८० असार २० गते
गण्डकी प्रदेशमा ६ महिनाको अवधिमा २ सय ४४ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सङ्कलन गरिएको जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार २० गते पोखरामा आयोजना गरेको गण्डकी प्रदेशको मानव अधिकार विषयक अन्तरक्रियामा इन्सेकका प्रदेश संयोजक शिव खकुरेलले यस्तो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । इन्सेकको अभिलेख अनुसार गण्डकीमा सन् २०२३ को जनवरीदेखि जुनसम्ममा राज्य पक्षबाट ११ जना पीडित भएको अभिलेख गरिएको संयोजक खकुरेलले बताउनु भयो । अन्य पक्षबाट २ सय २० जना महिला र १२ जना पुरूष गरी २ सय ३२ जना पीडित भए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकलाई आधार मानेर काम गर्न सहज हुने बताउनु भयो । सरकारले विकास निर्माणमा मात्र ध्यान दिएको बताउँदै मानव अधिकारको पक्षमा जोड दिनुपर्ने उहाँको भनाइ छ । मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले एकले अर्कोलाई दोष दिएर पन्छिने प्रवृत्ति बढेको भन्दै बोलेर भन्दापनि कार्यान्वयमा जोड दिनुपर्ने बताउनु भयो । प्रदेश सभा सदस्य कुसुम बुढा रानाले अधिकारका कुरा गर्दा कर्तव्यमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । मुख्यमन्त्री कार्यालय तथा मन्त्रीपरिषद् कार्यालय गण्डकीका सचिव मनमाया पङ्गेनीले हिंसाको न्यूनीकरण घरैबाट सुरू गनुपर्ने बताउनु भयो । उहाँले मानव अधिकार पाँचौँ राष्ट्रिय कार्ययोजनामा आएका विषयलाई इन्सेकसँग मिलेर प्रदेशका ११ वटै जिल्लामा काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिल्वालले विपन्न र तल्लो वर्गका नागरिकहरू स्रोतमाथिको पहुँचबाट वञ्चित भएको बताउनु भयो । नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुप्रसाद बरालले घटना अभिलेख राख्ने कार्य जटिल भएको भन्दै इन्सेकले उदाहरणीय काम गरेको बताउनु भयो । दलित महिला सङ्घ (फेडो) कास्कीका अध्यक्ष सुमित्रा गायकले जुम्लामा अन्तरजातीय विवाह गरेकै कारण दलितको घरमा आगो लगाउने कार्य भएको भन्दै उक्त घटनाको भत्र्सना गर्नु भयो । नौलो बिहानी पोखराका कमल कार्कीले यौनिक तथा अल्पसङ्ख्यक समुदायका मुद्दाप्रति राज्य जिम्मेवार हुनुपर्ने बताउनु भयो । प्रदेश बाल परिषद्का अध्यक्ष सुदिप पौडेलले बालबालिका लैङ्गिक हिंसामा परेपनि कमै मात्रामा घटनाहरू उजागर हुने गरेको बताउनु भयो । कार्यक्रममा इन्सेक म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेललाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरियो । उहाँलाई प्रमुख अतिथि समामुख धिताल र इन्सेक संयोजक खकुरेलले नगद ७ हजार रुपियाँसहित सम्मान पत्रले सम्मान गर्नु भयो ।
नारायण केसी