








मकवानपुर । २०८० मङ्सिर १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-७ स्थित श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १३ गते घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका छन् । मनहरी गाउँपालिका-७ स्थित श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले घरेलु हिंसासम्बन्धी नाटक प्रदर्शन गरेका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार समूहले चेतना मुलक नाटक प्रस्तुत गरिएको हो । उक्त कार्यक्रममा बोल्दै मानव अधिकार समूह, मनहरीका संयोजक बिमला गोपालीले मानसिक यातना पनि हिंसा नै भएको बताउनु भयो । उहाँले हिंसा शारीरिक रूपमा यातना दिनु मात्र नभई मानसिक रूपमा कोही कसैलाई अफ्ठ्यारो पार्नु पनि एक किसिमको हिंसा नै रहेको बताउनु भयो ।
साथै पछिल्लो समयमा नेपाली समाजमा अभिभावकले आफ्ना सन्तानको लागि अत्यावश्यक समय पनि उपलध नगराई सामाजिक सञ्जालमा रम्ने बानिको विकास हुँदै गएको र त्यसको असर कस्तो होला भन्ने विषय वस्तुलाई नाटक मार्फत सुन्दर ढङ्गले प्रस्तुत गरिएको भन्दै बालबालिकालाई उहाँले धन्यवाद समेत दिनुभयो । उक्त सडक नाटक प्रदर्शनमा कार्यक्रममा मानव अधिकार समूह मनहरीका संयोजक तथा यस कार्यक्रमको प्रमुख अतिथि बिमला गोपाली, श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेल, शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा आदि लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेक मकवानपुर सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।
पुष्पराज अधिकारी