घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान

कैलाली । २०७८ वैशाख ५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले वैशाख ५ गते कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–२ अमरैयाकी घरेलु हिंसा पडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ । कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–२ अमरैयाकी ३३ वर्षीया निर्मला चौधरीलाई राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा मानव अधिकार सहायता कक्ष अन्तर्गत १० हजार रुपियाँ सहयोग प्रदान गरिएको हो । राष्ट्र्यि मानव अधिका आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशी र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले सयुक्त रुपमा पीडितलाई सो आर्थिक सहयोग रकम हस्तान्त्रण गर्नु भएको हो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले पीडितलाई आर्थिक अभावका कारण यातायात खर्च समेत जुटाउन नसक्दा न्याय पाउन समस्या भइरहेकाले सहयोगका लागि राष्ट्रिय मानव अधिकार अयोगले सिफारिस गरेपछि सामान्य आर्थिक अभावकै कारण न्याय पाउनबाट वञ्चित हुन नपरोस् भनेर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको बताउनु भयो ।

पीडित चौधरीले कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–२ का ३९ वर्षीय सनिराम चौधरीसँग २०६० सालमा विवाह गरेपछि पटकपटक कुटपिट गर्ने, खानलाउन नदिएर घर निकाला गरेपछि दुई छोरा र एक छोरी सहित माइती घरमा बस्दै आएपछि पतिका विरुद्धमा ०७४ सालमा जिल्ला अदातालमा सम्बन्ध विच्छेद र अंशवण्डा सम्बन्धी मुद्दा दिनु भएको थियो । जिल्ला अदालत, कञ्चनपुरले २०७८ सालमा अंशवण्डाको मुद्दामा पतिको अंशबाट एक भाग पाउने फैसला सुनाएको भएपनि सम्बन्धविच्छेदको मुद्दा कानुनी प्रक्रियामा रहेकोले आर्थिक अभावका कारण समस्या उत्पन्न भएकोले सहयोगका लागि राष्ट्रिय मानव अधिकार अयोग र इन्सेकलाई निवेदन दिनु भएको बताउनु भयो । संकटको समयमा इन्सेकले गरेको सहयोगले आफूलाई न्याय पाउन सहज हुने बताउँदै इन्सेक र राष्ट्रिय मानव अधिकरा अयोगलाई पीडितले धन्यवाद समेत दिनु भएको छ ।

मैनामोती चौधरी