डाक्नेश्वरीमा समस्या पहिचान तथा कार्ययोजना बैठक
सप्तरी । २०८० कात्तिक १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा डाक्नेश्वरी नगरपालिका स्तरिय मानव अधिकार समूहले ०८० कात्तिक १४ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक गरेको छ । बैठकले नागरिकको मौलिक हक, अधिकार, शिक्षा, स्वास्थ्य, वातावरणको अधिकार र विभेदिकरण जस्ता समस्याहरूको पहिचान गरेको इन्सेक सहजकर्ता अजय परियारले जानकारी दिनु भयो । डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विद्यालयको पूर्वतर्फ रहेको बाटोको समस्याले विद्यार्थीहरूलाई आवतजावतमा कठिनाई भएको, नगरपालिकाको ३ सामुदायिक बिद्यालयमा शुद्ध खानेपानीको समस्या रहेको, पालिकाको स्वास्थ्य शाखामा आवश्यक औषधिहरु उपलब्ध नरहेको, पशु सेवा शाखा र भेटरिनरीमा औषधि अभाव रहेको विषयमा छलफल भएको छ ।
डाक्नेश्वरी नगरपालिका–३ की मानसिक विरामी रञ्जना चौधरीको सुरक्षा र उपचारको समस्या, नागरिकता अभाव र सामाजिक सुरक्षा भत्ताबाट वञ्चित वडा नम्बर ७ की एक दलित महिलाको समस्या, फोहोर बाटोघाटोका कारण मानविय र वातावरणमा परिरहेको असरबारे सहभागीहरुले छलफल गरेका छन् । सहभागीहरुका अनुसार नगरपालिका भित्र जनचेतनाको कमीले बाल विवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा, जातीय भेदभाव हुने गरेको छ । समस्याहरु माथि छलफल गर्दै डाक्नेश्वरी नगरपालिका कार्यालय, नगरपालिका मातहत रहेका शाखाहरू र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने कार्ययोजना बनाइएको समुहका अध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिनुभएको छ ।
मनोहरकुमार पोखरेल