डाक्नेश्वरी नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

सप्तरी । ०७९ पुस २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र डाक्नेश्वरी नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २७ गते सम्पन्न भएको छ । डाक्नेश्वरी नगरपालिकामा भएको कार्यक्रमको समापन गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख रामलखन मलाहाले यसै वर्षभित्र बालविवाह मुक्त नगरपालिका घोषणा गरिने सार्वजनिक गर्नुभयो । बालबालिकाको हक, हित र सरोकारका विषयमा विज्ञहरूसँग सुझाव लिएर बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिने उहाँले प्रतिबद्धता जनाउनु भयो । विद्यालयलाई राजनीतिको थलो बनाई भविष्य अन्धकार बनाउने र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित गर्ने संकिर्ण विचार विरुद्ध चौतर्फी दवाव आवश्यक रहेको उहाँले बताउनु भयो । राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवानले मानव अधिकारको विषयलाई मानव धर्म सम्झिएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो । युवाहरू विदेश पलायन भइरहेको र देशमा रहेका युवा कुलतमा फसिरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सामाजिक बिकृति, विसंगति अन्त गर्न सबैको भूमिका अपरिहार्य रहेको बताउनु भयो ।

नगरपालिका उपप्रमुख मीराकुमारी यादवले हिंसा, कुरिती र कमजोरी लुकाएर नभई उजागर गरेर समाधान खोज्नु पर्ने बताउनु भयो । हिंसा र विभेदविरुद्ध उदाहरणीय बन्नुपर्ने र सचेतनाका कार्यक्रमहरू विद्यालय र वडास्तरमा विस्तार गर्नुपर्ने उहाँले बताउनु भयो । मधेस प्रदेश संयोजक राजु पासवानले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेक हातेमालो गर्न, समन्वय र सहकार्य गरेर समाधान पहिल्याउन तत्पर रहेको बताउनु भयो । डाक्नेश्वरी नपा–८ का वडा अध्यक्ष सिताराम पण्डितले सुन्दर र समुन्नत समाज निर्माणका लागि असल कर्मको प्रचार र प्रयोग गर्ने तथा युवाहरू जागरुक हुनुपर्नेमा जोड दिनुभयो । धेरै विद्यार्थी विद्यालयमा आउने वातावरण बनेको जानकारी दिनुहुँदै शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख राजदेव यादवले अब विद्यार्थीलाई विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने बनाउनेतर्फ ध्यान जानुपर्ने बताउनु भयो । पैसाको भन्दा पनि सोंच, योजना र कार्यान्वयनमा समस्या रहेकाले विद्यालयको व्यवस्थापन र गुणस्तरमा ध्यान दिदै अनुगमन गर्न यादवले आग्रह गर्नुभयो ।

वरिष्ठ सई राजेशकुमार बस्नेतले इन्सेकबाट नियम, कानुनबारे दिएको जानकारीले कानुनको पालना र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निष्पक्ष भएर सूचना दिन र घटना न्यूनिकरणमा सहयोग गर्न समेत नागरिक समाजसँग आग्रह गर्नुभयो । दुई दिने तालिममा मधेस प्रदेश संयोजक पासवानले इन्सेकको परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता, महिलाविरुद्धका हिंसाका घटनामा कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिनु भयो । यसैगरी इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र नगरपालिकाको भूमिकाका बारेमा सहजिकरण गर्नु भयो । कार्यक्रमका फोकल पर्सन बरुण बस्यालले मानव अधिकार समूहको काम, कर्तव्य र अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धको अधिकारका विषयमा प्रशिक्षण दिनु भयो । मानव अधिकार समूहका अध्यक्ष चिन्तामणि चौधरीको अध्यक्षता र सहजकर्ता विश्वेन्द्र पासवानद्वारा सञ्चालित दुई दिने तालिममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू, मानव अधिकार समुहका पदाधिकारीहरूसहित ५० जनाको सहभागिता रहेको थियो ।

मनोहरकुमार पोखरेल