डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकामा मानव अधिकार समुह गठन
धनुषा । २०७९ असोज १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा असोज १२ गते डाक्नेश्वरी नगरपालिकास्तरीय मानव अधिकार समुह गठन गरिएको छ । जनप्रतिनिधि, स्थानिय समाजसेवी, सरोकारवाला र कर्मचारीहरुको भेलाबाट चिन्तामणी चौधरीको अध्यक्षतामा मानव अधिकार समूह गठन गरिएको हो । समूहको उपाध्यक्षमा रेणु चौधरी, सचिवमा सुभाष चन्द्र राय, सहसचिवमा उर्मिला सिंह, कोषाध्यक्षमा ममता ठाकुर र सदस्यहरुमा रामरुप मुखिया, सन्तोष कुमार चौधरी र चन्देश्वरी देवी खंग लगायत रहेका छन् । मानव अधिकार शिक्षा कार्यक्रमको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखीयाले इन्सेक विगत लामो समयदेखि मानव अधिकारको क्षेत्रमा कार्य गरिरहेको उल्लेख गर्नु हुँदै मानव अधिकार समूहका पदाधिकारीहरुलाई मानव अधिकार कार्यक्रमलाई स्थानीय तहसँग समन्वय गरी पालिकास्तरमा प्रभावकारी बनाउनेमा आफू विश्वस्त भएको बताउनु भयो । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य, वातावरण र विभेद विरुद्धको सवालमा ग्रामीण तहका जनतालाई जागरुक बनाउने र जनप्रतिनिधिहरुलाई जवाफददेखि बनाउन परियोजना संचालन गरिएको बताउनु भयो ।

इन्सेकले स्थानीय तहमै यो कार्यक्रम सञ्चालन गरेको हुँदा मानव अधिकार समूहले स्थानीय सरकार र जनताबिचमा पुलको भूमिका निर्वाह गर्न इन्सेक मधेश प्रदेश संयोजक पासवानले सुझाव दिनु भयो । यसैबिच मानव अधिकार समूहको सोही दिन बसेको बैठकले ठाक्नेश्वरी नगरपालिका वडा नंं. ७ स्थित श्री जनता रामेश्वर मेमोरीयल मावि ब्रहम्पुर र डाक्नेश्वर नगरपालिका वडा नं. १० स्थित हिरा फेक्नी मावि बनौलामा कार्यक्रम सञ्चालन गर्नका लागि छनौट गरिएको छ । यसैबिच सप्तरीको शम्भुनाथ नगरपालिकामा पुल्कित भगतको अध्यक्षतामा मानव अधिकार समूह गठन गरिएको छ । इन्सेक मधेस प्रदेशद्वारा असोज ११ गते आयोजित मानव अधिकार शिक्षा कार्यक्रमको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा सो समूह गठन गरिएको हो ।

कार्यक्रममा शम्भुनाथ नगरपालिकाका नगर उप–प्रमुख अनिता कुमारी चौधरीले इन्सेकसँग सहकार्य गरेर स्थानीय तहमा मानव अधिकार सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गर्नु भयो । गाउँघरमा अहिले पनि ग्रामिण भेगका नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न नसकेकोले इन्सेकको यो परियोजनाले सो कार्यमा मदत मिल्ने अपेक्षा लिएको शम्भुनाथ नगरपालिकाका नगर उप–प्रमुख चौधरीले बताउनु भयो । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले यो परियोजनामार्फत शिक्षा, स्वास्थ्य, खाद्य, वातावरण र विभेद विरुद्धको सवालमा ग्रमिण तहका जनतालाई जागरुक बनाउने र उक्त नागरिकका हक अधिकारका लागि गठित मानव अधिकार समूहमार्फत सम्बन्धित सरोकारवालालाई जिम्मेवार बनाउने कार्य गरिने बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय
HUMAN RIGHTS NEWS PORTAL






