








काठमाडौँ । २०७८ असोज ३ गते
डिजिटल राईट्स नेपालको आयोजना र अनौपचारिक केन्द्र (इन्सेक) तथा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सहकार्यमा डिजिटल राईट्स सेक्युरिटी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम असोज ३ गते काठमाडौँमा सम्पन्न भएको छ । डिजिटल राईट्स नेपालका अध्यक्ष सन्तोष सिग्देलले प्रविधिको प्रयोग सँगसँगै जोखिम पनि बढेकाले त्यसको संवेदनशीलता र सुरक्षाको जानकारीका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले डिजिटल अधिकार के हो, यसले हामीलाई के प्रभाव पार्दछ, यो विषयसँग जोडिएका सुरक्षाका विषय के के हुन्, हामी के गरी सुरक्षित हुन सक्दछौं भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।
प्रविधिको प्रयोगको क्रममा मुख्यतः नागरिक समाजसँग आबद्ध र मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्तिहरू अत्यन्त जोखिममा रहेकाले उनीहरूलाई डिजिटल अधिकारको दायरा के छ भन्ने विषयमा कार्यक्रममा सहभागी बीच छलफल हुने समेत अध्यक्ष सिग्देलले उल्लेख गर्नुभयो । कार्यक्रममा इन्सेका कार्यकारी निर्देशक विजयराज गौतमले यस अभिमुखीकरणले मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीलाई प्रविधिको प्रयोग र यसको अधिकारको सम्बन्धका बारेमा समेत उजागर गर्ने बताउनुभयो । उहाँले यस कार्यक्रमले प्रविधि प्रयोगको सुरक्षाका विषयमा सहभागीहरूले कुरा बुझ्ने र सिक्ने अवसर मिल्ने अपेक्षा राखेको बताउनुभयो । इन्सेकले यो वर्ष आफ्ना साझेदार संस्थासँग मिलेर सातै ओटा प्रदेशमा यस विषयमा तालिम दिने लक्ष रहेको समेत उहाँले जानकारी गराउनुभयो ।
यसैगरी मानव अधिकार सन्धि अनुगमन केन्द्रकी संयोजक सम्झा श्रेष्ठले प्रविधिको प्रयोग बढेकाले त्यससँगै जोखिम पनि बढेको बताउनुभयो ।साथै उहाँले डिजिटल प्लेटफर्ममार्फत भएका छलफल, अन्तरक्रिया र भएका निर्णयलाई सरकारले मान्यता दिनुपर्छ भन्ने कुरामा आफूहरूको मत रहेको उल्लेख गर्नुभयो । मुख्यतः नागरिक समाजसंग आवद्ध र मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्तिहरूले हिंसा पीडितको बारेमा संवेदनशील तथ्याङ्क सङ्कलन गर्ने भएकाले प्रविधिको प्रयोगका सन्दर्भमा सचेत हुन जरुरी रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा डिजिटल राईट्स सेक्युरिटी सम्बन्धी कानुन, त्यसबाट हुने जोखिम र त्यसलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी सम्बन्धमा डिजिटल्स राइट्सका टंक अर्याल, यस क्षेत्रमा कार्यरत नागरिक समाजले प्रविधिको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षाका उपाय र जोखिम कम गर्न आफ्नो कर्तव्यका सम्बन्धमा सन्तोष सिग्देल र रुकमणी महर्जनले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा प्रविधिको प्रयोगसँगै आएको सुरक्षा चुनौति र त्यसबाट बच्न अपनाउनु पर्ने उपायबारे अन्तरक्रिया गरिएको थियो ।
विमल पौडेल