दिगो विकास र महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । २०७९ जेठ १७ गते
इन्सेक लुम्विनी प्रदेश नेपालञ्जको समन्वय र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको आयोजनामा चौथो राष्ट्रिय महिला अधिकार दिवस दिगो विकास र महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ १७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकरबहादुर रावलले दिगो विकासमा महिला अधिकारको विषय नजोडिएको बताउदै महिला अधिकारको कुरा गर्दा ग्रामिण भेगका महिलाको स्वास्थ्य, शिक्षा, पोषण, रोजगारलगायका विषय जोडिनु पर्ने बताउनु भयो । नेपालमा सशस्त्र द्धन्द्धको समय र बर्तमान अवस्थामा महिलाको अधिकारमा के कस्ता उपलब्धि भए यसको तथ्यांक विश्लेषण गर्नु पर्ने बताउनु भयो । उहाँले ५१ प्रतिशत महिलालाई ओझेलमा बनाएर देशको विकास हुन नसक्ने बताउदै आर्थिक, सामाजिक र सास्कृतिक अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो ।
इन्सेक लुम्विनी प्रदेश संयोजक भोला महतले धेरै जना महिलाहरू सँग नागरिकता नभएका कारण महिलाले पाउने सबै अवसरबाट बञ्चित हुनु परेको बताउनु भयो । संयोजक महतले परिणाममूखि काम गर्नकालागि योजनाबद्धरुपमा अगाडि बढ्नसुझाव दिनु भयो । नेपालञ्ज उप–महानगरपालिकाका सामाजिक विकास प्रमुख शोभा शाहले राज्यका हरेक संरचनामा महिलाको ३३ प्रतिशत सुनिश्चित हुनु पर्ने, विद्यमान कानुन कार्यान्वयका साथै परिमार्जित गर्दै जानु पर्ने धारणा राख्नु भयो । शाहले समानताको कुरा महिलालाई मात्र नभइ ज्येष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता लगायत सिमान्तकृत समूदायलाई पनि आवश्यक रहेको बताउनु भयो ।
एफडब्लुएलडीका प्रदेश संयोजक सुनिलकुमार श्रेष्ठले महिलाको दिगो विकास भयो भने घर, परिवार समाजको विकास हुने भएकोले यसलाई कार्यान्वयन तहमा लैजानु पर्ने धारणा राख्नु भयो । कानुन परिवर्तनले मात्रै सबै कुराको समाधान नहुने बताउदै सोचमा पनि परिबर्तन आवस्यक रहेका श्रेष्ठको भनाइ रहेको छ । अधिकारकर्मी कमला पन्तले महिलाको सम्मान गर्नु पर्ने बताउदै महिला पुरुष विरोधी भावना नराखेर मानसिकतामा परिवर्तन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, कानुन व्यवसायि, अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
HUMAN RIGHTS NEWS PORTAL






