देवचुलीमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
नलवपरासी (सुस्ता पूर्व) । २०७९ चैत २२ गते
इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला चैत २१ गते सम्पन्न भएको छ । कार्यक्रममा देवचुली नगरपालिका प्रवक्ता तिल प्रसाद काफ्लेले आगामी दिनमा जलवायु परिवर्तनको विकराल अवस्था आउने संकेत देखिएकाले विद्यार्थीहरूलाई वातावरण संरक्षण सम्बन्धि सचेतना प्रवाह गर्नुपर्ने बताउनुभयो । देवचुली नगरपालिकाले विद्यालयमा जङ्क फुड रोकथामका लागि पहल गरिरहेको बताउँदै उहाँले देवचुली नगरपालिकालाई वातावरणमैत्री पालिका बनाउन योजना निर्माणका क्रममा रहेको जानकारी दिनुभयो । उहाँले देवचुली नगरपालिकामा ४० वटा सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यालयस्तरीय वातावरण संरक्षण सम्बन्धि सचेतना कार्यक्रम संचालनका लागि कार्यपालिकामा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गा विष्टले विद्यालयस्तरमा जङ्क फुड खानबाट सचेत गराउने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । देवचुली नगरपालिकामा फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको विष्टले बताउनुभयो । इन्सेक गण्डकी प्रदेशको आयोजना तथा देवचुली मानवअधिकार समुहको समन्वयमा भएको कार्यक्रममा समूहका अध्यक्ष कृष्णबहादुर बिकले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मानवअधिकार समुहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेद सम्बन्धी सचेतना मूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गर्ने बिकले बताउनुभयो । कार्यशालामा दिपक शर्माले वातावरण संरक्षण र अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्यहरू, विभिन्न टोल विकास संस्था, महिला समूह, शिक्षक, विद्यार्थी, क्लब तथा बाल समूहका सदस्यको सहभागिता रहेको थियो ।
तिर्थराज डुम्रे