देवचुलीमा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०८० मङ्सिर २७ गते

देवचुली नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला २०८० मङ्सिर २६ गते सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेशकाद्वारा गठित मानव अधिकार समूहको आयोजनामा देवचुली– ९ मा रहेको कालिका माध्यमिक विद्यालयमा सो कार्याशाला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै देवचुली नगरपालिका– ९ का वडा अध्यक्ष बलिराम सापकोटाले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । घर, समुदायबाट नै  फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सापकोटाले बताउनुभयो । नगरपालिकालाई वातावरणमैत्री बनाउन वडा तहसम्म काम गरिरहेको र सबै पक्ष समेटेर नीति तथा कार्यक्रम तयारी गरि आवश्यक पर्ने कानुन निर्माणका लागि कार्यपालिका छ्लफल गरिने उहाँले बताउनुभयो ।

   

कार्यशालामा दिपक शर्माले वातावरण संरक्षण र अधिकारसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । वातावरण संरक्षणका लागि स्थानीय तहमा गर्नुपर्ने कामको समेत उहाँले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा देवचुली मानवअधिकार समूहका अध्यक्ष कृष्णबहादुर बिकले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरणको अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मानव अधिकार समूहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरणको अधिकार  तथा जातीय विभेदसम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको बिकले बताउनुभयो । कार्यक्रममा कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसाल, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम अर्याल, प्रधानाध्यापक रेशम कोइराला, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा लगायत शिक्षक, विद्यार्थी, मानव अधिकार समूह तथा बाल अधिकार समूहका सदस्यको  सहभागिता रहेको थियो ।

ज्ञानु पंगेनी