नगर स्वयम्सेवक शिक्षक राख्ने तयारी छः शिक्षा शाखा प्रमुख खत्री
धनुषा । २०७९ असार १ गते
क्षिरेश्वरनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीले नगरपालिका भित्रका विद्यालयहरुमा विषयगत शिक्षकको अभाव रहेकोले चाँडै नै नगरपालिकाको तर्फबाट नगर स्वयम्सेवक शिक्षक राख्ने तयारी भइरहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा क्षिरेश्वरनाथ नगरपालिकामा गठित नगर स्तिरीय मानव अधिकार समूहको आयोजनामा महेन्द्रनगरमा जेठ ३० गते आयोजित कार्यक्रममा शिक्षा शाखा प्रमुख खत्रीले नगरपालिकामा २० ओटा सामुदायिक र चार ओटा धार्मिक विद्यालय गरी २४ ओटा विद्यालय रहेकोमा सबै विद्यालयमा आवश्यकता अनुसारको भौतिक संरचना पर्याप्त रहेपनि विषयगत शिक्षकहरुको अभाव रहेको बताउनु भयो । उहाँले दिवा खाजाको लागि हप्ताको ६ दिन पौष्टिक आहार पुग्ने गरी खाजाको कार्यक्रम विद्यालयको समन्वयमा संचालन भइरहेको बताउनु भयो । स्वास्थ्य शाखाका प्रमुख रामबहादुर यादवले प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क टिकटदेखि लिएर उपलब्ध औषधि निःशुल्क प्रदान गर्दै आएको बताउनु भयो ।
नगरपालिकामा १० ओटा स्वास्थ्य चौकी र एक वर्थिङ् सेन्टर रहेकोमा आफुहरुले गर्भवतीले नियमित चार पटक चेकजाँच गराएबापत १ हजार रुपियाँ यातायात खर्च र ८ सय रुपियाँ चेक गराएबापत दिँदै आउनुको साथै वर्थिङ् सेन्टरमा बच्चा जन्माएको खण्डमा न्यानो कपडा समेत प्रदान गर्दै आएको उहाँले बताउनु भयो । कृषि शाखाका प्रमुख गङ्गा यादवले धानको विउ बिजनको लागि किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको बताउनु भयो । नगरपालिकाभरमा ६५ ओटा समूहमार्फत आफुहरुले कृषिसम्बन्धी गतिविधि, विउबिजन र मल खाद्य लगायतको कृषि यन्त्रहरु उपलब्ध गराउँदै आएको उहाँले बताउनु भयो । किसानहरुलाई मौैसम अनुसारको राहत सामग्री र तालिमको व्यवस्थापन गर्दै आएको उहाँले बताउनु भयो । मानव अधिकार निगरानी समूहका अध्यक्ष शोभा भण्डारीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको लागि तल्लो तहबाटै आवाज उठाउनुपर्नेमा जोड दिनु भयो ।
दिपेन्द्रप्रसाद सिंह