नागरिक समाज र सञ्चार क्षेत्रबीच पैरवीका साझा मुद्दा पहिचान गरिने
ओखलढुङ्गा । २०७७ मङ्सिर ३० गते
ओखलढुङ्गाका नागरिक समाजका संस्था र पत्रकारहरूबीच पैरवीका साझा मुद्दा तयार गर्ने विषयमा मङ्सिर २९ गते छलफल भएको छ । साझा मुद्दाको पहिचान र बुझाइमा एकरूपता कायम नहुँदा आपसी असझदारी देखिएको सरोकारवालाको बुझाइ छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य’ विषयक अन्तक्रियामा सहभागीहरूले साझा बुझाइ निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मानवअधिकारसँग सम्बन्धित मुद्दाको पैरवीमा सञ्चार जगत र नागरिक समाजका संस्थाबीच बुझाइमा एकरूपता नहुँदा पीडितको पक्षमा गरिने पैरवी कमजोर देखिएको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
आगामी दिनमा साझा मुद्दा कुनकुन हुन् भनेर पहिचान गरेपछि मात्रै सामूहिक पैरवी शुरू गर्नु पर्ने कान्तिपुर दैनिकका उप सम्पादक कुम्भराज राईले बताउनुभयो । सञ्चार क्षेत्र र नागरिक समाजका संस्थाहरू साझा मुद्दा पहिचानमै चुकेकाले पैरवी कमजोर बनेको राईको भनाइ छ । सञ्चार क्षेत्र र नागरिक समाजका संस्थाहरू दलगत रूपमा समेत विभाजित देखिने समस्याले पीडितको पक्षमा काम गर्न कठिन भएको परिवर्तनशील महिला समूहकी अध्यक्ष पेमाडोमा शेपाले बताउनुभयो । उहाँले दल वा आस्थाका हिसाबले पीडित र पीडकलाई हेरिने नजरण् फेरिनु पर्नेमा जोड दिनुभयो । कतिपय सञ्चार माध्यमले पीडक र भ्रष्टाचार गर्ने व्यक्तिकै पक्षमा पृष्ठपोषण गरेको उहाँको गुनासो छ ।
सोच नेपालका जिल्ला अधिकृत बोधनारायण श्रेष्ठले परियोजनामुखी पैरवीले नागरिक समाज कमजोर हुँदै गएको बताउनुभयो । उहाँले परियोजना नचल्दा निश्कृय बन्ने, गैरसरकारी क्षेत्रको नेतृत्व गर्ने विभिन्न महासंघका पदाधिकारीको चासो कम भएका कारणले पनि नागरिक समाजको पैरवी औपचारिकताका लागि जस्तो देखिएको बताउनुभयो । ट्रान्परेन्सी इन्टरनेशलका जिल्ला अधिकृत भोलामान विश्वकर्माले नागरिक समाजका संस्था र सञ्चार क्षेत्रले नागरिकका मुद्दामा साझा धारणा बनाउन नसक्दा समस्या देखिएको बताउनुभयो । पत्रकार रामहरि श्रेष्ठले साझा मुद्दामा साझा बुझाइ बनाउने र नागरिक समाजका संस्थाका प्रतिनिधीहरूले समाजका गलत विषयमा खुलेर बोल्नु पर्ने, सञ्चारकर्मीसमक्ष नपुगेका विषय उजागर गर्नु पर्नेमा जोड दिनुभयो ।
शिवप्रसाद ढुङ्गाना