नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने विषयमा अन्तरक्रिया कार्यक्रम

सुर्खेत । २०८१ वैशाख २२ गते

इन्सेकको समन्वय तथा राष्ट्रिय महिला आयोगको आयोजनामा नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने विषयमा प्रदेश सभा सदस्य र संसदीय समितिका  सभापतिहरुसँग अन्तरक्रिया कार्यक्रम वैशाख २२ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य तथा औचित्यको बारे राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले जानकारी दिनुभएको थियो भने अधिवक्ता गीता कोइरालाले कर्णालीमा महिलाकाे अवस्था तथा नीतिगत तहमा महिलाको पहुँचबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कर्णाली प्रदेशमा महिलाको आर्थिक तथा सामाजिक अवस्था सँगै नीतिगत तहमा महिलाको पहुँच र चुनातीहरुबारे छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विगत भन्दा महिला सहभागितामा सुधार हुँदै गएको बताउनु भयाे। मुख्यमन्त्री कंडेलले समाजका हरेक क्षेत्रमा अवसर पाउने मात्र नभई महिलाले नेतृत्व लिने तहमा आफूलाई उभ्याउनु पर्ने बताए । उहाँले कुरीति, अन्धविश्वास र पुरानो मूल्य र मान्यता कर्णालीबाट नहट्दा संविधानले सुनिश्चित गरेका हक अधिकारहरु कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नु भयाे ।  कर्णाली प्रदेशका महिलाहरु विभिन्न किसिमका विभेद भोग्दै आएका छन् । महिला सहभागिता र कार्य सम्पादन फरक कुरा भएकोले महिलाका सहभागिताको सुनिश्चिता पहिलाे आवश्कता रहेको कुरामा उहाँले जोड दिनुभयो । कर्णाली प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकी राज्यमन्त्री गमता विकले नीतिगत तहमा महिलाको पहुँच स्थापितका लागि सदनमा अवाज उठाउदै आएको बताउनु भयो । महिला भएरै समाजमा विभेदमा पारिएको बताउदै अब नीतिमा पहुँच बढाउन अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

   

यसै गरी,  कर्णाली प्रदेश सभा सदस्य हिक्मत बहादुर विष्टले तीनै तहका सरकारहरुले महिला सहभागितासँगै सशक्तिकरणको पाटोलाई एक साथ लगेमात्रै महिलाका सवालमा रहेका समस्या हल गर्न सकिने  बताउनु भयाे । यस्तै गरी, महिला सहभागिता बढाउन प्रदेश सरकारलाई आग्रह गदै कर्णाली प्रदेश सभा सदस्य जानकी सिंहले जोड दिनुभयो । महिला सहभागिताको सवालमा सबै जिम्मेवार भएर लाग्नुपर्ने निर्वतमान ऊर्जामन्त्री उर्मिला विश्वकर्माले बताउनु भयाे ।जब महिला सहभागीता हुँदैन उल्लेख्य हुदैन  तबसम्म नीतिमा महिलाहरु पहुँच बढाउन नसकिने भएकोले यसका लागि सबैले विशेष पहल गर्नुपर्ने प्रदेश सभा सदस्यहरुको भनाइ रहेको थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले देशमा लोकतन्त्र स्थायित्वपछि महिलाहरुको हरेक क्षेत्रमा सहभागिता बढेको तर, अपेक्षाकृत नभएको दृष्टान्तलाई बिर्सन नहुने बताउनु भयाे। ‘उहाँले भन्नु भयाे,हिजोको प्रितृसत्ताबाट महिलाहरु माथि उठेर सर्वोच्च नेतृत्वमा पुगेका उदाहरणहरु तपाइ हामी माझ छन्, आफूले प्राप्त गरेका हरेक अवसरमा आफ्नो कार्यकौशलता प्रर्दशन गर्न जरुरी छ । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल बहादुर हमाल , जीत बहादुर मल्ल, खड्गबहादुर पोखरेल  र कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य लगायतले बोल्नु भएको थियो। कार्यक्रमको खुला छलफलमा पीडित महिलाहरुको सवाल सँगै कर्णाली प्रदेशको स्थानीय तहले महिलाको  लािग बनाएको  नीति प्रभावकारिता बारेमा थप छलफल गरी अगाडि बढ्नु पर्ने आवश्यकता रहेको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले बताउनुभयो । महिलाहरु नीति पहुँच सँगै बजेट र स्रोतहरुको व्यवस्थापनमामा जोड दिन आवश्यक रहेको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलले बताउनु भयो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कल्पना पराजुलीले महिलाहरुको अवस्थाका बारेमा बुझ्न कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेको बताउँदै कर्णालीमा कानुनभन्दा देउता बलियो पाएको बताउनु भयाे। यो अवस्थालाई परिवर्तन गर्न नसके महिलाहरुको नीतिगत तहमा सहभागिता नहुने भन्दै अध्यक्ष पराजुलीले महिलाहरु सधै विभेदमा परिरहने बताउनु भयाे। कार्यक्रमको सञ्चालन राष्ट्रिय महिला आयोगकी उपसचिव सीता निरौलाले गर्नुभएको थियो ।

जगतदल जनाला विक