नेतृत्व विकास र पैरवी तालिम सम्पन्न
सुर्खेत । २०८० असोज १० गते
मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई नेतृत्व विकास तथा पैरवी तालिम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा दुई दिने तालिम असोज ९ वीरेन्द्रनगरमा सम्पन्न गरिएको हो । समापन कार्यक्रममा बोल्दै उच्च अदालत सुर्खेतकी न्यायाधिस पुनम सिंह चन्दले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । न्यायधिस चन्दले महिलामाथि हुने हिंसा र अधिकार बञ्चितका विषयमा समाजमा सचेतना फैलाउन तालिममा सहभागी महिलाहरुको काँधमा आएको भन्दै सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न सके हिंसा न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । यसै गरी, राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गर्न सके त्यसको परिणाम सकरात्मक हुने बताउनुभयो । समाजमा महिलामाथि हुने हिंसाको न्यूनिकरण गर्न तालिममा सहभागी महिलाहरुले नेतृत्वकर्ताका भूमिका खेल्नुपर्ने बताउनुभयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले इन्सेकले विगत र वर्तमानमा गरेका कामहरुको बारेमा जानकारी गराउँदै तालिममा सिकेका कुराहरु उद्देश्य अनूरुप व्यवहारमा लागू गरे मात्रै तालिमको औचित्य पुरा हुने बताउनुभयो । यो तालिमलाई इन्सेकले उपलब्धीमूलक लिएकोले व्यवहारमा कार्यान्वयन गर्न संयोजक सुवेदीले अनुरोध गर्नुभयो ।
मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई इन्सेकको हेल्प डेस्कले विभिन्न चरणमा कानुनी सहायताका लागि आर्थिक सहयोग समेत गरिरहेको उहाँले जानकारी दिनुभयो । तालिममा सहभागी निर्मला विसीले मन र समाजबिचको भूमिका, मनोसामाजिक रोगको व्यक्तिमा देखिने लक्षण, अधिकारवादी संघसंस्थाको जानकारी, नेतृत्व र सामुहिक उद्देश्य, लैङ्गिक हिसा र कानुनी उपचार, जीवनउयोगी सिप, सञ्चार सिपका विषयमा सिकाई भएको बताउनुभयो । तालिमबाट सिकेका कुराहरु व्यवहारमा उतार्ने उहाँको भनाइ छ । त्यसै गरी, तालिमका सहभागी रविनाकुमारी खड्काले घरको चुलोचौकोमा सिमित आफूहरुले कानुनी र व्यवहारिक ज्ञानका विषयमा जानकारी पाउँदा खुसी लागेको बताउनुभयो । अन्याय र हिंसा भए कहाँ न्याय पाउने? अधिकार प्राप्तिका लागि के गर्न जस्ता कुराहरु बारे जानकारी पाइएको बताउनुभयो । उहाँले यो तालिमले अन्धकारमा रहेकी आफुजस्ता अन्य महिला दिदीबहिनीहरुले उज्यालो बाटोतिर जाने अवसर मिलेको बताउनुभयो । तालिममा सुर्खेत, जाजरकोट, सल्यान, दैलेख, जुम्ला र कालिकोटका ३४ जना पीडित महिलाहरुलाई तालिम दिइएको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो । अधिवक्ता गिता कोइराला, ब्राइट फ्यूचरका निर्देशक उमाशंकर आचार्य, जिल्ला अदालतका श्रेस्तेदार ठाकुर प्रसाद पौडेल, र मनोपरामर्शकर्ता शर्मिला विसीले तालिमको प्रशिक्षण दिएका थिए ।
जगतदल जनाला विक