नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
लमजुङ । २०८१ असार २५ गते
नेपाल मानवअधिकार व२४र्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम बेशिसहरमा असार २५ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङले आयोजना गरेको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सुमित्रा भुजेलले सन् २०२४ को जनवरीदेखि जुन सम्मको ६ महिनाको अवधिमा लमजुङमा घटेका मानवअधिकार उल्लङ्घनका घटनाको बारेमा प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार लमजुङमा ६ महिनाको अवधिमा २७ ओटा घटना घटेका छन् । यसमा बलात्कार, कुटपिटल गायतका मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेको उहाँले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले समाजमा शिक्षित नागरिकहरुको संख्या बढ्दै गएपनि अझैपनि सोचेजति मानवअधिकार उल्लंघनका घटनामा भने कमी आउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । संविधान र कानुनमा मानव अधिकार सम्बन्धि राम्रो व्यवस्था भएतापनि यसको कार्यान्वयन राम्रोसँग नहुँदा पनि यस्ता घटना घट्ने गरेको उहाँको भनाई छ । त्यस्तै उहाँले पत्रकारले सत्यतथ्य समाचार नबनाउँदा पनि मानवअधिकार उल्लंघनका हुने भएकाले बुझेर मात्रै समाचार लेख्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै पीडितको उजुरी सम्बन्धित निकायले नलिएमा पनि मानवअधिकार उल्लंघन भएको ठहरिने बताउँदै यसमा सबै निकायको ध्यान जान जरुरी रहेको अर्यालले बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालले हिंसात्मक हिसावले मानवअधिकार उल्लङ्घनका घटना हुन नदिन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ति, सुरक्षा, मानवअधिकारमा चुनौती दिने कुनै पनि गतिविधि गर्न नहुने र यस्ता कार्य गर्नबाट रोक्नको लागि जिल्ला प्रशासनले भूमिका निर्वाह गरिरहेको उहाँको भनाई छ । त्यस्तै समाजमा सचेतना जगाउदै मानवअधिकारका घटना घट्न नदिन जिल्ला प्रशासन कार्यालय लागि परेको बनाउनुभयो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले प्रहरीमा उजुरी आउने घटना बाहेक पनि त्यस्ता घटनाहरू समाजमा हुने गरेकाले त्यस्ता घटनाहरू इन्सेकले खोजेर बाहिर ल्याउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा अनुसन्धान कार्यालय लमजुङका प्रमुख विष्णुहरि पण्डित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा रेडियो चौतारीका अध्यक्ष किसानबहादुर नेपाली, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका महासचिव आस गुरुङ, रेडियो भोटेओडारका स्टेशन म्यानेजर वासुदेव थापा लगायतले मानव अधिकारी उल्लङ्घनका विषयमा टिप्पणी गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव बिबश बुढाथोकी, जिल्ला अदालतका श्रेस्तेदार भेशराज पौडेल, कारगार प्रशासन निमित्त प्रमुख सुनिता मरासिनी, रेडियो मर्स्याङ्दीका निर्देशक मिना गुरुङ र पत्रकारहरुको उपस्थित रहेको थियो ।
सुमित्रा भुजेल