








म्याग्दी । २०७८ असार २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २५ गते सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सामाजिक सञ्जालको गलत प्रयोगका कारण मानवअधिकार उल्लङ्घनका घटनाहरू बढी हुन थालेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले बताउनुभएको छ । उहाँले भन्नुभयो,–‘मानवअधिकार क्षेत्र व्यापक हो, अधिकारका कुरा गर्दै सामाजिक सञ्जालको सही प्रयोग गर्न नसक्दा समस्या सिर्जना भएका छन् ।’ सामाजिक सञ्जाललाई कारण बताउँदै धेरै उजुरीहरू आउन थालेको र सोमा मिलापत्र हुने घटनाहरू पनि पछिल्लो समय बढेको भन्दै उहाँले वर्ष पुस्तकमा समावेश गरिने सामग्रीहरूलाई अझ परिस्कृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालबाट हुने मानव अधिकार हननका घटनालाईपनि इन्सेकले अभिलेख गर्नुपर्ने सुझाव दिनुभयो । बेनी नगरपालिकाका उपमेयर सञ्जु बरूवालले बालविवाहको समस्या जिल्लाभर नै विकराल रूपमा रहेको र सो प्रति सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘सानै उमेरमा विवाह अनि आमा बन्दा स्वास्थ्यमा गम्भीर असर देखिने गरेको भएपनि उनीहरूलाई सचेत गराउन निकै कठिन भएको छ ।’
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्यामकुमार राईले पुरूषहरू पनि धेरै हिंसामा परेको तर समस्या बाहिर आउन नसकेको बताउनुभयो । अपराध गर्नेलाई कारागार चलान गर्ने तर उसले त्यहाँबाट निस्केर के गरेका छ भन्ने पनि हेक्का राख्न जरूरी रहेको उहाँले बताउनुभयो । इन्सेकले निजी तथा अन्य क्षेत्रमा मानवअधिकार उल्लङ्घनका घटनाहरूको लागि गरेको सहजीकरणलाई अभिलेख गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घ तथा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कार्यक्रममा इन्सेक प्रतिनिधि अमृतप्रसाद पौडेलले सन २०२१ को प्रथम छ महिनामा इन्सेकले म्याग्दीमा मानव अधिकार हननका १६ ओटा घटना अभिलेख गरेको जानकारी दिनुभयो । जसमध्ये महिला अधिकारका आठ ओटा घटना, बाल अधिकारका पाँच ओटा घटना, हत्याको दुई ओटा र सम्पत्ति क्षतिको एक ओटा घटना रहेका छन् ।
अमृतप्रसाद पौडेल