नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
लमजुङ । २०७८ साउन १ गते
नेपाल मानवआधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङको आयोजनामा गरिएको कार्यक्रममा इन्सेक लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीले जिल्लामा सन् २०२१ को जनवरी देखि जुनसम्म भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सरोकारवालाबिच प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका एसपी जनक रेग्मीले पछिल्लो समयमा प्राकृतिक विपदका कारण भएका घटनाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले भुकम्प, अविरल वर्षा, चट्याङ, आगलागी, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको ले पुराएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालले इन्सेकको अभिलेखले मानवअधिकारको क्षेत्रमा काम गर्ने राज्यका निकायलाई मार्गदर्शनको रुपमा काम गरेको बताउदै उहाँले नेपाल मानवअधिकार वर्ष पुस्तकमा रहेका सूचना तथ्यपरत र न्यायको लागि महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो । इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखलाई निरन्तरता दिइरहेको कुरा अत्यन्त सराहनिय रहेको बताउँदै पुस्तकमा समेटिने सूचनालाई सत्य तथ्य बनाउन समीक्षाले मद्दत पुर्याउने बताउनुभयो । कार्यक्रममा इन्सेकले लमजुङ जिल्लामा यस ६ महिनाको अवधिमा २५ ओटा घटना अभिलेख गरेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । जसमध्ये घरेलु हिंसाका १५ ओटा, बलात्कारका सात ओटा, हत्याका दुई ओटा र बलात्कार प्रयासका एक ओटा घटना रहेका छन् । नेपाल पत्रकार महासङ्घ लमजुङका पूर्व अध्यक्ष किसान संगीत नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष आश गुरुङ, पूर्व अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष अनुज अधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
दलबहादुर मजाकोटी