नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७८ साउन १ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समिक्षा असार ३१ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधिले सन् २०२१ जनवरीदेखि जुनसम्म जिल्लामा १६ ओटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु इन्सेकले अभिलेखिकरण गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले जिल्लाको मानवअधिकार अवस्था बारेमा इन्सेकले राख्ने अभिलेखिकरणले जिल्लाको मानव अधिकारको अवस्था, तथ्याङ्कगत विश्लेषण सहित भावि योजना निर्माणको लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकारपनि मानवअधिकार रक्षक भएको भन्दै मानवअधिकार रक्षकहरुको क्षमता अभिबृद्धिको लागि इन्सेकबाट समेत सहयोग हुन आवश्यक रहेको बताउनुभयो ।

मानवअधिकारको बारेमा स्थानीय जनतासम्म चेतनाको अभिबृद्धिको लागि आआफ्नो स्थानबाट आवश्यक सहयोग हुन जरुरी रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा इन्सेक प्रतिनिधिले घटना मात्र नभइ कोभिड–१९ को कारण सिर्जित अवस्थाको कारण जिल्लामा केही समय अक्सिजन र आइसोलेशनको व्यवस्थापनमा देखिएको अन्यौलता, सरकारले व्यवस्था गरेको निःशुल्क औषधिको उपलब्धता लगायत विषयमा जानकारी दिनुभएको थियो । इन्सेकको अभिलेख अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १६ ओटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु भएका छन् । जसमध्ये सात ओटा बालिकामाथि भएको बलात्कार तथा यौन दुव्र्यवहार, एक ओटा शिशु हत्या, तीन ओटा महिला बलात्कार, एक ओटा बेचबिखन, तीन ओटा घरेलु हिंसा र एक ओटा अभद्र व्यवहार सम्बन्धी घटना रहेका छन् ।

तिर्थराज डुम्रे