नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याएको छः प्रमुख जिल्ला अधिकारी पाण्डे
बैतडी । २०७८ पुस १४ गते
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याएको बताउनु भएको छ । इन्सेकले पुस १३ गते गडीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठीमा पाण्डेले सो कुरा बताउनु भएको हो । ‘वर्ष पुस्तक प्रकाशनले मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याएको छ । इन्सेकले अझै गाउँसम्म सञ्जाल विस्तार गरेर प्रहरीमा दर्ता भएका बाहेकका घटनालाई पनि वर्ष पुस्तकमा समावेस गर्नु पर्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नु भयो ‘जसले गर्दा राज्यपक्ष नागरिकका अधिकार सुनिश्चित गर्नमा जिम्मेवार हुन्छ । इन्सेकले वर्षभरी भएका घटनाको अभिलेखिकरण गरेर राज्यलाई जिम्मेवार बनाएको छ ।’
जिल्ला कारागार, बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएको गुनासोलाई कार्यक्रममै सम्बोधन गर्दै उहाँले गारागार व्यवस्था विभागसँग उक्त समस्या समाधानका लागि आग्रह गरिएको बताउनु भयो । मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य सरस्वती नेपालीले वर्ष पुस्तकमा गाउँस्तरका समस्याहरु पनि समावेस हुनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो– ‘नागरिक तथा राजनीतिक अधिकार जनताले पाएपनि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार नागरिकले सहज रुपमा उपभोग गर्न नपाएकाले यसतर्फ पनि इन्सेकले राज्यलाई जिम्मेवार बताउनु पर्छ ।’
इन्सेक बैतडी प्रतिनिधि नरी बडुले सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरेका ७२ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु प्रस्तुत गर्नु भएको थियो । जसमा बलात्कार तथा यौन दुर्व्यवहारका १० ओटा, बहुविवाहका दुई ओटा, हत्याका पाँच ओटा र घरेलु हिंसाका ५२ ओटा घटना रहेका छन् ।
नरी बडु