नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न
कास्की । २०७८ पुस १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागी गण्डकी प्रदेशको सम्पादन भेला पुस १३ गते सम्पन्न गरिएको छ । इन्सेकद्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि यस वर्ष जिल्लामा भएका र जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना आवश्यक सूचनासहित पुनः पुष्टिका लागि सम्पादन भेला आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल मानवअधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरुलाई सङ्कलित विवरणमा छुटेका र पुष्टि गर्नुपर्ने तथा न्यायमा भएको पहुँचको सवालमा सल्लाह सुझाव दिनुभएको थियो ।
इन्सेक अनलाइन सम्पादक रमेश तिमिल्सिनाले मानव अधिकार वर्ष पुस्तकलाई उपयोगी बनाउन सम्पादन भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा इन्सेक गण्डकी संयोजक शिव खकुरेलले सम्पादन भेलाले वर्ष पुस्तक प्रकाशनमा निकै सहयोग गर्ने हुनाले यसमा ध्यान दिएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश मातहतका इन्सेक जिल्ला प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश भरी सन २०२१ जनबरी देखि नवेम्बरसम्म जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घनका ३ सय ९१ घटनाहरुको सम्पादन गरिएको थियो ।
सुशन घिमिरे