नेपाल मानव अधिकार वर्ष पुस्तकले राज्यलाई थप जवाफदेही बनाउन मदत गरेको छः सरोकारवाला

डडेल्धुरा । २०७८ चैत १८ गते

जिल्लास्थित सरोकारवालाहरुले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकार अवस्थाको चित्रण गर्दै राज्यलाई मानव अधिकारप्रति थप जिम्मेवार तथा जवाफदेही बनाउन मदत गरेको बताउनु भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले चैत १७ गते जिल्लास्थित प्रमुख सरोकारवालाहरुलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्त्रण गरिसकेपछि गरिएको छलफलका क्रममा उहाँहरुले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

 

वर्ष पुस्तक बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले मानव अधिकार विरोधी घटना नियन्त्रणको लागि राज्यलाई थप जिम्मेवार र जवाफदेही बनाउने बताउनु भयो । उहाँले भन्नु भयो– ‘इन्सेकले सार्वजनिक गर्ने मानव अधिकार उल्लङ्घनका घटनाहरुले देशको अधिकारको अवस्थाका बारेमा विश्लेषण गरेको छ ।’

जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्र पालले मानव अधिकार वर्ष पुस्तकले देशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमि ल्याउनुका साथै सम्बन्धीत पक्षलाई जिम्मेवार बनाउन अहम भुमिका खेलेको बताउनु भयो । 

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रशाद ओझाले नेपाल मानव अधिकार वर्ष पुस्तकमा सामाजिक तथा सांस्कृतिक अधिकारका विषयहरुलाई प्रकाशन गरी राज्य पक्षलाई थप जिम्मेवार बनाउन आग्रह गर्नु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले जिल्ला प्रशासन, जिल्ला प्रहरी, नगरपालिका कार्यालयहरुमा मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्त्रण गर्नु भएको थियो ।

 

भूपेन्द्र बिष्ट