नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

भोजपुर । २०७९ असार १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको  छ । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२२ को प्रथम छ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४३ ओटा घटना अभिलेख गरेको जानकारी दिनुभयो । जसमा घरेलु हिंसाका ३४, महिला तथा बालिका बलात्कारका सात र कुटपिटका दुई घटना गरी जिल्लामा ४३ ओटा घटना अभिलेख गरेको सरोकारवाला समक्ष बताउनु भयो ।

कार्यक्रममा पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जिलामा पछिल्लो समय मानव अधिकार उल्लङ्घनका घटनाहरू बढी हुन थालेकाले त्यस किसिमका घटना न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद दाहालले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनु भयो । उहाँले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताउनु भयो । समीक्षा कार्यक्रममा नेकपा एमाले जिल्ला पार्टी सचिव किरण राईले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर भोजपुरको मानव अधिकारको वास्तविक अवस्था देखाएको बताउनु भयो । उहाँले इन्सेकले अबका दिनमा स्थानीय तहसम्म पुगेर स्थानीय तहमा भएका तथ्याङ्क सङ्कलन गरे अझै मानव अधिकारको अवस्थाका विषयमा जानकारी हुने बताउनु भयो । समीक्षा कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

गणेश विष्ट