नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

रौतहट । २०७९ असार ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गरुडामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अभिलेखित घटानहरुको पुष्टि तथा पुनःपुष्टिका लागि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले ०७८ पुस १७ गतेदेखि ०७९ वैशाख मसान्तसम्म अभिलेख गर्नु भएको मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका ३० ओटा घटना प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जिल्लामा अभिलेखित घटनामा बहुविवाहका चार, दाइजोका एक, बलात्कारका १०, बलात्कार प्रयासका एक, कुटपिटका एक, हत्याका तीन, ‘बोक्सी’को आरोप एकलगायतका छन् । उहाँका अनुसार अभिलेखित ३० घटनामा पीडितको सङ्ख्या ३७ रहेको छ भने आरोपति ५६ जना रहेका छन् । कार्यक्रममा दलित अधिकारकर्मी सोनेलाल रामले बाँच्न पाउने अधिकार तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सहज पहुँचबाट दलित तथा विपन्न समुदाय वञ्चित रहेको बताउन भयो । दलित अभियन्ता प्रभाकुमारी रामले मानव अधिकारका घटनामा सामुहिक आवाज नउठेका कारण दलितमाथि एकपछि अर्को हिंसाका घटना भइरहेको बताउनु भयो । कार्यक्रममा सहभागी कुन्तीदेवी साहले घरेलु हिंसामा महिला बढी पीडित हुने गरेको र उक्त घटनामा मिलापत्र गराएका कारण पुनः घरेलु हिंसा पीडित महिला थप हिंसामा पर्ने गरेको बताउनु भयो । घरेलु हिंसा पीडित महिलालाई सुरक्षित आवासको व्यवस्था आवश्यक रहेको उहाँले जोड दिनु भयो । मानव अधिकार समूह गरुडाका सचिव अमर मण्डलले मानव अधिकार संविधानको मौलिक हकमा व्यवस्था भएकोले उक्त अधिकार प्राप्त गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको बताउनु भयो ।

मानव अधिकारको घटनामा कुनैपनि व्यक्ति हिरासतमा हुँदा केहि सूचनाको लागि जाँदा प्रहरी प्रशासनले धेरैजसो सूचना नदिने गरेको उहाँको गुनासो थियो । कार्यक्रमका सहभागी प्रमोद रामले जसको अधिकार उसैको सवाल रहेमा मात्र देश विकास हुने र सबैले सहज अधिकार प्रयोग गर्न पाउने बताउनु भयो । इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर रामराजा केशरीले पीडितको न्यायको लागि प्रहरीले काम गरिरहेको बताउनु भयो । प्रहरीले कुनैपनि घटनाको सार्वजनिक गर्न, निश्चित समय वा नियम हुने हुनाले जसले जतिबेला, जाँहा पनि सूचना माग्ने र दिने भन्ने हुदैन, त्यसको नियममा रहेर आउन र त्यसका लागि आफूले सहज बनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका गरुडा नगरपालिकाका नगर उपप्रमुख पुनम कुमारी चौधरीले नागरिकको समस्या समाधानका लागि आफू सधै साथमा रहने प्रतिबद्धता जनाउनु भयो । केही घटनाको न्यायको लागि छलफल गर्ने स्थानीय न्यायिक समिति तथा प्रमुख व्यक्तिको नाताले आफू सधै न्यायको पक्षमा रहने प्रतिबद्धता उहाँले जनाउनु भयो ।

कोपिला तिमल्सिना