नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

पर्वत । २०७९ असार ८ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा प्रकाशनका लागि पर्वत जिल्लामा अभिलेख गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ । पर्वतमा असार ८ गते आयोजित कार्यक्रममा सन् २०२२ को जनवरीदेखि हालसम्म सङ्कलन तथा अभिलेख गरिएका विभिन्न १७ ओटा घटनाहरूको समीक्षा गरिएको हो । समीक्षाका क्रममा इन्सेक प्रतिनिधि सन्तोष थापाले १० ओटा घरेलु हिंसा, चार ओटा बाल यौन दुर्व्यवहार, एउटा बलात्कार प्रयास, एउटा हत्या र एउटा अपहरणको घटना प्रस्तुत गर्नु भएको हो ।

उक्त घटनाहरूमाथि छलफल गर्दै सहभागीले मानव अधिकारका सवालमा स्थानीय तहले चासो दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीले पर्वत जिल्लाभर भइरहेका घटना हेर्दा जलजला गाउँपालिकामा धेरै मात्रामा महिला तथा बालबालिका हिंसाका घटना अभिलेख भएकाले स्थानीय तहले न्यूनीकरणका लागि कार्यक्रमहरू गर्नुपर्ने बताउनु भयो । उहाँले जिल्लाका सबै स्थानीय तहलाई मानव अधिकारका क्षेत्रमा जनचेतना अभिबृद्धि गर्ने खालको नीति कार्यक्रम ल्याउन सुझाव दिने धारणा व्यक्त गर्नु भयो ।

अनलाइन डेस्क