नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाश पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

बैतडी । २०७९ असार १४ गते

इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १२ गते बैतडीमा सम्पन्न भएको छ । इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा तथा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर सङ्ख्यामा कैदीबन्दीहरु राखिएको, जिल्लाका अधिकांस विद्यालयमा विद्यार्थीहरुले पाठ्यपुस्तकहरु पउन नसकेको, स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य औजार तथा उपकरण र आवश्यक पूर्वाधाहरु प्रयाप्त मात्रामा नभएको र सरकारले निःशुल्क गरेका सबै औषधीहरु स्वास्थ्य संस्थामा उपलब्ध नभएको इन्सेकले आयोजना गरेको समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । सन् २०२२ जनवरीदेखि सन् २०२२ जुनसम्म इन्सेक प्रतिनिधिले संकलन गरेका ३० ओटा घटनाहरुको अनुमोदन तथा पुनर्पुष्टि गरिएको थियो ।

घटनाको प्रकृतिका आधारमा यस ६ महिनाको तीन जना बालिकाहरु बलात्कार, एक जना बालिका यौन दुव्र्यवहार, चार जना महिला बलात्कार, एक जना महिलाको परिवारबाट हत्या, दुई जना महिला बहुविवाह र १९ महिला घरेलु हिंसाबाट पीडित भएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले इन्सेकले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमले समस्या समाधानका लागि सहयोग पुग्ने बताउनु भयो । उहाँले जिल्ला कारागारमा भवन अभावका कारण कैदीबन्दीहरुले सास्ती खेप्नु परेकोले जिल्ला कारागारको भवन निर्माणका लागि माथिल्लो निकायमा पहल गरिएको, सडक सुविधा नभएको कारागारमा सडक पुगाउनको लागि नापजाँच गरिएको र विद्यार्थीले पुस्तक नपाएको विषयमा पनि सम्बन्धीत निकायसँग बुझेर समाधानको प्रयास गर्ने बताउनु भयो ।

नरी बडु