नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा
कपिलवस्तु । २०७९ असार १० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा असार ९ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२२ जनवरीदेखि जुन सम्म जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा हत्या पाँच, बलात्कार १२ वटा, बलात्कार प्रयास १० वटा, यौन दुर्व्यवहार तीन, मानव बेचबिखन तीन , बहु बिवाह तीन, घरेलु हिंसा १ सय ३९ ओटा गरी १ सय ७२ ओटा घटना रहेका थिए ।
कार्यक्रममा धमेन्द्रकुमार मिश्रले मानव अधिकार हनन भएको थाहा पाएमा प्रशासनमा सुचना दिन आग्रह गर्दै मानव अधिकारका बिषयमा सदैव सचेत रहने र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले राज्यनै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो । राष्ट्रिय अनुसन्धानका प्रमुख योगेन्द्र केसी र सशस्त्र प्रहरीका डीएसपी गोपाल श्रेष्ठले इन्सेकको अभिलेखले राज्यका निकायलाई काम गर्न मार्गदर्शनको काम गरेको बताउनु भयो । स्वयंमसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले इन्सेकले अभिलेख गर्ने घटनाहरु सत्य हुन्छन् भन्ने बिश्वास भएको बताउदै मुद्दा फैसलामा ढिलाई हुँदा पीडितले धेरै समस्याहरु झेल्न बाध्य भएको बताउनु भयो ।
पार्वती आचार्य