नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
रौतहट । २०७७ पुस ४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटद्वारा पुस ४ गते चन्द्रनिगाहपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा बलात्कारका १२, बलात्कार प्रयासको एक, हत्याका ११, अपहरणको एक, बहुविवाहको एक, हिरासतमा मृत्युका दुई, बाल यौन दुर्व्यवहारका तीन ओटालगायत ४५ ओटा घटनाको विवरण समावेश गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका इन्स्पेक्टर नितेशकुमार सिंहले प्रहरीलाई कुनैपनि घटनाको सत्यतथ्य अनुसन्धान गर्न समय लाग्ने बताउनु भयो ।
अधिकारकर्मीहरूले वास्तविक दोषीलाई र वास्तविक पीडितलाई मुद्दा प्रक्रियामा आउन सहजिकरण गर्नुपर्ने उहाँको भनाइ छ । चन्द्रपुर नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले मिलापत्र भइरहेका घटनाहरू बाहिर ल्याएर पीडितको न्याय पाउने अधिकारलाई सहजीकरण गर्न इन्सेकसँग आग्रह गर्नु भयो । गैरसरकारी संस्था माहासङ्घ जिल्ला शाखा रौतहटका अध्यक्ष रामपुकार यादवले इन्सेकले गरेको कार्य सराहनीय रहेको र मानव अधिकार जस्तो संवेदनशील विषयको सूचना सम्प्रेषण गरी सबैलाई सुसूचित गराएको बताउनु भयो ।इन्सेक रौतहट जिल्लाका पूर्व प्रतिनिधि तथा अधिवक्ता विपिन गौतमले वर्ष पुस्तकमा मानव अधिकार अन्तर्गत सामाजिक तथा सांंस्कृतिक अधिकारका सवाललाई पनि समावेश गर्न सुझाव दिनु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुर