








सिरहा । २०७९ पुस १३ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सिरहामा संकलन गरिएका मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुको पुस्तक प्रकाशन पूर्व पुस १० गते सिरहामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक सिरहाका अनुसार सन् २०२२ मा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो वर्ष ८१ ओटा मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना संकलन गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा एक वर्षको अबधिमा परिवारजनबाट चार महिलाको हत्या, बलात्कारको ३० ओटा घटनामा १७ जना बालिका र १३ जना महिला पीडितको तथ्याङ्क रहेको प्रतिनिधि परियारले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले इन्सेकको प्रतिबेदनले आफुलाई प्रदेश सभामा मुद्दा उठान गर्न सहज भएको बताउनु भयो । इन्सेक जस्ता संघ संस्थाहरुले गर्दा समाजमा घटेका घटनाहरु उजगार भएको र घटनाहरु घटनमा कमी भएको बताउनु भयो । बालिकाहरुमा हुने बलात्कार जस्ता जघन्य अपराधका आरोपितहरुलाई कारबाही हुनु पर्ने र आफनो तर्फबाट हरेक सहयोग गर्न तयार रहेकोले कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
इलाका प्रशासन कार्यालयका प्रमुख रेवती रमण शर्माले इन्सेकले मानवअधिकार वर्ष पुस्तक प्रकाशन गरेर सराहनीय काम गरेको बताउनु भयो । जनचेतनाको अभावमा घटनाहरु हुने भएकाले घटना घटेर कारबाहीमा जानु भन्दा जनचेतना फैलाएर तथा कानूनी सचेतना जगाएर घटनाहरु न्यूनीकरण गर्नु पर्नेमा जोड दिनु भयो । इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कृष्ण खत्रीले मानव अधिकारको संरक्षणमा प्रहरीनै अग्र पंत्तिमा रहने बताउनु भयो । मुद्दा आउने बितिकै दर्ता गर्नु भन्दा पनि संघ संस्थाको सहयोगमा घटनाको अनुसंधान गरी मुद्दा दर्ता सजिलो हुने भएको बताउनु भयो । प्रहरीहरु अधिकारकर्मीहरुको सुरक्षाको लागि सक्रिय रहेकाले गोपनियता कायम राख्न प्रहरीलाई निर्देशन दिने बताउनु भयो । समाजमा हुने गरेका घटनाहरुको रोकथाम र नियन्त्रनका लागि सबैको सहकार्य आवश्यक रहेको र आफुले पनि संघ संस्थाहरुसंग सहकार्य गरेरनै अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य महेश सिहं, संचारकर्मी फिरोज सिद्दीकी, अधिकारकर्मीहरु, देवराज पोखरेल, शर्मिला निरौला, गंगा अधिकारी, उमेश बिसुन्के, रामभरोसी महतो लगायत संचारकर्मीहरुले प्रतिवेदनमा टिप्पणी गर्नु भएको थियो ।
दुर्गा परियार