








बर्दिया । २०७९ पुस १३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बर्दियाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ११ गते सम्पन्न भएको छ । कार्यक्रमका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विभिन्न गैर सरकारी संस्था, स्थानीय तह तथा सरकारी सङ्यन्त्र हुदाँपनि महिला र बालबालिका माथि हुने हिंसा बढ्नु चिन्ताको विषय भएको बताउनु भयो । प्रजिअ बास्तोलाले नेपाल मानव अधिकार वर्ष पुस्तककालागि सङ्कलित घटनाहरू नमुना मात्र रहेको र ग्रामिण क्षेत्रमा अझ धेरै घटना अभिलेख गर्नु पर्ने बताउदै समुदायमा विभिन्न प्रकारका घटनाहरूलाई सरकारी तथा गैरसरकारी माध्यमबाट उजागर गर्न जरूरी रहेको बताउनु भयो ।
इन्सेक जिल्ला प्रतिनिधि मानवबहादुर चौधरीले जिल्लामा सन् २०२२ जनवरी देखि डिसेम्बरसम्म अभिलेख गरिएका ८९ वटा घटना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमध्ये सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु एक जना, परिवारजनबाट हत्या दुई जना, महिला हत्या प्रयास एक जना, महिला आत्महत्या दुरुत्साहन एक जना, महिला बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार २९ जना, बालिका बलात्कार, यौन दुर्व्यवहार ४४ जना, मानव बेचबिखन तथा ओसारपसार दुई जना, बालविवाह तीन जना र बहुविवाह ६ जना रहेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले औपचारिक रुपमा घटनाको प्रहरीमा जाहेरी नआएसम्म घटनाले मुद्दाको स्वरुप लिन नसक्ने बताउदै बाल विवाह र बहु विवाहलाई अहिले पनि समाजले अपराधकोरुपमा नलिने गरेकाले यस्ता किसिमका घटनाहरू भए पनि परम्परागत सोचका कारण प्रहरी समक्ष नआउने गरेको बताउनु भयो ।
मानबहादुर चौधरी