नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
दाङ । २०८० असार ११ गते
इन्सेक दाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम असार ११ गते तुलसीपुरमा सम्पन्न भएको छ । इन्सेकले जिल्लामा सङकलन गरेका मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनाहरू वर्षको दुई पटक सरोकारवाला निकायहरूकाबिच पुनर् पुष्टि गर्ने गर्दै आएको छ । उक्त अवधिमा जिल्लामा अभिलेख गरेका १ सय ५७ घटना अभिलेख गरिएका छन् । जसमध्ये राज्य पक्षबाट पाँच ओटा र अन्य पक्षबाट १ सय ५२ ओटा घटना भएको तथ्यांक प्रस्तुत गर्नु भयो । इन्सेक अभिलेख अनुसार घरेलु हिंसा ६४, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारमा ५२ जना, कथित बोक्सी आरोप एक, हत्या चार , हत्या प्रयास दुई , बन्द÷हडताल १२, अपहरण तथा शरिर बन्धक एक, मानव बेचबिखन तथा ओसारपसार चार , दुव्र्यवहार पाँच, कुटपिट चार, बालविवाह तीन , बहुविवाह तीन ,सम्पत्ति क्षतिका दुई वटा घटना अभिलेख गरेको तथ्याङक प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा तुलसीपुर कारागारका जेलर चिन्तामणी रेग्मीले मानव अधिकारको विषय आधारभूत तहकै पाठ्यक्रममा समेटनुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर पर्वत केसीले थुनुवाहरूको न्युनतम मानव अधिकारप्रति प्रहरी जिम्मेवार रहेको बताउनु भयो । केसीले मानव अधिकारप्रति प्रहरी गम्भीर भएर काम गरिरहेको बताउनु भयो । उच्च बार इकाइ तुलसीपुरका सदस्य श्रीराम चौधरीले मानव अधिकारका थुप्रै विषय अभिलेख गर्न आवस्यक रहेको भन्दै आत्महत्या दुरुत्साहन, पुरुष पीडित भएका विषयलाई पनि अभिलेख गर्न सुझाव दिनुभयो । कार्यक्रममा तुलसीपुर उमनपा–१८ का अध्यक्ष माधव वली, नेपाली काँग्रेस तुलसीपुर नगर सचिव विमल पौडेल, मानव अधिकार सञ्जाल दाङकी सदस्य सुष्मा गिरीलगायतले मानव अधिकार वर्ष पुस्तक समाजको ऐना भएको बताउदै यसलाई थप प्रभावकारी बनाउन सत्य तथ्य घटनालाई अभिलेख गर्न आग्रह गरेका थिए ।
जयनारायण पुन