नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
तनहुँ । २०८० असार १३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा ०८० असार १२ गते दमौलीमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले तनहुँमा ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको बारेमा सार्वजानिक गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मानव अधिकारको घटना राज्यसँग सम्बन्धीत हुने भएकोले राज्य पक्ष यस विषयमा अलि बढि संवेदनशिल बन्नु पर्ने बताउनु भयो । मानव अधिकार लामो विषय रहेको भन्दै प्रजिअ रिजालले नेपालमा भएका हरेक राजनीतिक आन्दोलनले मानव अधिकारको थप उपलब्धीको रक्षा गरेको बताउनु भयो । सबैले इमान्दारीका साथ आफ्नो जिम्मेवारी पुरा गरेमा मानव अधिकार हननका घटनामा कमी आउने भन्दै प्रजिअ रिजालले सेवाग्राहीको धेरै भिडभाड हुने कार्यालयलाई सेवाग्राही मैत्री बनाउन आफुले निर्देशन दिएको बताउनु भयो ।
विद्यालयमा हुने यौनजन्य दुर्व्यवहारका घटनामा कमी ल्याउनको लागि स्थानीय तह मार्फत सेचतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने प्रजिअ रिजालले बताउनु भयो । अहिले सडक निर्माणको क्रममा अत्याधिक धुलो र हिलोले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको हुँदा ति विषयलाई पनि उपभोक्ताको अधिकारको रुपमा हेरिनु पर्ने प्रजिअ रिजालले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी अवदेश विष्ट क्षेत्रीले प्रहरीले मानव अधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताउनु भयो । मानव अधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै उनले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो । इन्सेकले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको एसपी विष्टको भनाई थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताउनु भयो । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उहाँको भनाई छ । इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उहाँले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताउनु भयो । नेपाली काँग्रेसका जिल्ला कार्यसमितिकी सदस्य पवित्रा घिमिरेले मानव अधिकारको घटना कसैले नचाहेर हुने हुँदा कसैले पनि यसप्रति पुर्वाग्रह राख्न नहुने बताउनु भयो । उहाँले विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न र स्वास्थ्यको अधिकार प्रति सबै सरोकारवालाहरु गम्भिर बन्नु पर्ने बताउनु भयो । नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव बसन्त दरैले आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकार हनन हुन नदिने तर्फ सबै सचेत बन्नु पर्ने बताउनु भयो ।
नेपाल बार एसोसियसनका उपाध्यक्ष शिवराज काफ्लेले कैदी बन्दीको अधिकारको बारेमा पनि इन्सेकले अनुगमन गर्नु पर्ने बताउनु भयो । उहाँले पक्राउ परेका अभियुक्तलाई २४ घन्टा भित्र कानुन व्यवसायी रोज्न पाउने अधिकारलाई कार्यान्वयन गर्न प्रहरीले सघाउनु पर्ने बताउनु भयो । गैसस महासंघकी जिल्ला सचिव सरिता थापा भण्डारीले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताउनु भयो । तनहुँमा पछिल्लो ६ महिनामा ५३ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । उक्त घटनामा ५१ महिला र नौ पुरुष सहित ६० जना पीडित भएका छन् । इन्सेकका अनुसार यस अवधिमा तनहुँमा घरेलु हिंसाका २९, बलात्कार र बलात्कार प्रयासका १४, यौन दुर्व्यवहारको दुई, हत्याका ६, कुृटपिटको दुई, गिफ्तारको एक र मानव बेचविखचको एक ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको साथै उपनिर्वाचनको क्रममा सात ओटा निर्वाचन आचार संहिता विपरितको घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशचन्द्र भट्टराई