नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
सुर्खेत । २०८० असार १४ गते
इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सुर्खैत जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सरोकारवाला निकायका बीच ०८० असार १३ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७९ पुस १७ गतेदेखि ०८० असार १३ गते सम्म ६ महिनामा सङ्कलन गरिएका ५९ ओटा मानव अधिकार हनन तथा ज्यादतीका घटनाहरुमा चार जना राज्यपक्षको गरी ७८ जना पीडित भएको तथ्याङ्कमा प्रस्तुत गर्नुभएको थियो । जसमा सबैभन्दा धेरै घरेलु हिंसाका घटना भएका छन् । यो अवधीमा सुर्खेतमा ४४ ओटा घरेलु हिंसाका घटना घटेको इन्सेकले जनाएको छ । सात ओटा बलात्कार, ६ ओटा कुटपिट र दुई ओटा हत्याका घटना भएका छन् । ५९ ओटा मानव अधिकार हननका घटना मध्ये आठ ओटालाई कानुनी दायरामा ल्याइएको छ भने तीन ओटा घटना मिलापत्रमा टुङगिएका छन् भने ४७ ओटा घटना भने अनुसन्धानको क्रममा रहेका छन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख हरिप्रसाद देवकोटाले जिल्लामा हुने गरेका यस्ता खालका घटना हुन नदिनको लागि अब सबै सरोकारवाला पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी योगेन्द्रसिंह थापाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्ता खालका घटना दिनप्रतिदिन बढ्दोक्रममा रहेको बताउनुभयो । सुर्खेत जिल्लामा शान्ति सुरक्षामा चुनौती थपिदै गएको बताउनुभयो । प्रहरीमा घरेलु हिंसाका घटना दिनमा ८ देखि १० ओटा आउने गरेको समेत उहाँको भनाइ छ । समाजमा बालविवाह तथा यस्ता खालका घटनाहरु लुकेर रहेका छन । यस्ता विकृति बाहिर ल्याउने मान्छे समेत नभएकाले अझबढी समस्या थप भएको बताउनुभयो । घटना न्युनिकरणका लागि समाजमा सचेतना आवश्यक रहेको समेत उहाँको भनाइ छ । यस्तै कार्यक्रममा बोल्दै मानव अधिकार आयोग सुर्खेतका प्रमुख लाकनाथ बास्तोलाले घटना न्युनिकरणका लागि घर परिवार र समाजमा सचेतनाको आवश्यक रहेको बताउनुभएको छ । सरकारी तथा गैरसरकारी सबै निकाय मिलेर यस्ता खालका घटना न्युनिकरणको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । कर्णालीमा बालविवाह र जातिय विभेद धेरै भएकाले यस्ता खालका घटनापनि संकलन गरी निराकरण तर्फ लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा उठेका कुराको जवाफ दिदै इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सुझावलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ । छुटेका घटनााई पुर्णगर्ने प्रयास गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रभाकुमारी रावत