नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

प्यूठान । २०८० असार १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ को  प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा ०८० असार १४ गते खंलगामा सम्पन्न भएको छ । सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा २१ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेख भएको तथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले कार्याक्रममा प्रस्तुत गर्नुभयो । जसमध्ये बाल अधिकार एक ओटा, घरेलु हिंसाका १६ ओटा , बलात्कार दुई ओटा, हत्या एक ओटा, बन्द तथा हडताल एक ओटा रहेका छन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघराज सोनीले इन्सेकले प्रकासन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले पीडितलाई न्यायमा सहयोग पुगेको र पीडकलाई कारबाही गर्न मदत पुगेकोले नेपालको एउटा महत्वपूर्ण दस्ताबेज भएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादर बिकले कार्यक्रममा समाजमा अझै पनि जातीय विभेदका घटना हुने गरेको र बाहिर तथा सम्बन्धीत निकायसम्म नआउन गरेको बताउनु भयो । अधिकार कर्मी लोकेन्द्र सुनारले  राजनीतिक तथा अन्य विदवादका घटना मिलापत्रमा टुङ्गिने भएकाले मानव अधिकार क्षेत्रमा काम गर्ने संघ संस्था र राज्यले घटना न्युनीकरणकामा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रममा सरोकारवाला निकाय,  अधिकारकर्मी , पत्रकारहरूको लगायतको सहभागिता रहेको थियो ।

रविन्द्र पाण्डे