नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

पाल्पा । २०८० असार २२ गते

इन्सेक पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ को प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम  असार २० गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पछिल्लो सन् २०२३ जनवरीदेखि जुनसम्म अभिलेख गरिएका ४४ ओटा घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनाहरूमा  बाल अधिकार अन्तरगत  बलात्कार, बलात्कार प्रयासका ६ ओटा, महिला अधिकार अन्तरगत बलात्कारका पाँच ओटा र ३३ ओटा घरेलु हिंसाका घटना रहेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कासिका गैरेले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकबाट देशको मानव अधिकारको अवस्था कस्तो छ भन्नेबारे जानकारी लिन सजिलो हुने गरेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्कोटाले हरेक ६,६ महिनामा गरिने पूर्व समीक्षा कार्यक्रमबाट जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे छलफल गर्ने वातावरण बनेको बताउनु भयो । उहाँले इन्सेकले आगामि दिनमा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार लगायतका विषयहरूलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्भ शर्मा, तानसेन नगरपालिकाका पुर्व मेयर अशोककुमार शाही, नेकपा एमाले तानसेन नगर इन्चार्ज गुँरास आत्रेय, राष्ट्रिय स्वतन्त्र पार्टीका पाल्पा सहसंयोजक सुमन गैरे, राष्ट्रिय जनमोर्चा पाल्पा अध्यक्ष बिशाल दर्लामी, नेपाली कांग्रेस जिल्ला सदस्य गिरिजा गैरेले मानव अधिकार क्षेत्र फराकिलो रहेकोले अझ फराकिलो दायरामा रहेर तथ्याङक सङकलन गर्न सुझाव दिनुभयो ।

यज्ञमूर्ति तिमिल्सिना