नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

बैतडी । २०८० मङ्सिर २४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते गडीमा सम्पन्न भएको छ । ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगित उक्त कार्यक्रममा इन्सेकले सन् २०२३ जनवरीदेखि हालसम्म अभिलेख गरेका घटना तथा अन्य नागरिक अधिकारका सवालहरुका बारेमा छलफल गरिएको थियो । मुख जिल्ला अधिकारी सुरेश पन्थीले इन्सेकको मानव अधिकार वर्ष पुस्तक प्रकाशनले राज्यलाई जिम्मेवार बनाउनुका साथै मानव अधिकारको अवस्थाका बारेमा विश्लेषण गर्न समेत सहज हुने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘इन्सेक प्रतिनिधिले जिल्लामा भएका घटनाको प्रस्तुती गरी जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनु सकारात्मक छ । यसले जिल्लामा मानव अधिकारको संरक्षणमा सम्बन्धीत पक्षलाई सहयोग गुग्ने छ ।’ अधिकारकर्मी कर्ण दयालले इन्सेकले द्वन्द्वकालमा मानव अधिकार रक्षा र प्रवर्धनका लागि खेलेको भूमिका उल्लेख गर्दै वर्तमान अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका बारेमा इन्सेकले थप भुमिका खेल्नु पर्ने बताउनु भयो । इन्सेक बैतडी प्रतिनिधि नरी बडुले सन् २०२३ जनवरीदेखि सन् २०२३ नोभेम्बरसम्म जिल्लामा ७३ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु संकलन गरिएको र घरेलु हिंसाबाट ४९ जना, बलात्कारबाट १२ जना बालिका र नौ जना महिला, बहुविवाहबाट दुई जना र बालविवाहबाट एक जना पीडित हुनुभएको तथ्याङ्क समीक्षा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

नरी बडु