नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

धनकुटा । २०८० मङ्सिर २४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धनकुटामा वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) धनकुटाको आयोजनामा ७५ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर जिल्लाको मानव अधिकारको अवस्थामाथि समीक्षा गरिएको छ । इन्सेक धनकुटा प्रतिनिधिले प्रस्तुत गर्नु भएको तथ्याङ्क अनुसार जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । जिल्लामा गत वर्ष ७५ ओटा मानवअधिकार उल्लङ्घनका घटनामा ७५ जना पीडित भएकोमा यस वर्ष १ सय ओटा घटनामा १ सय ३ जना पीडित भएको इन्सेक प्रतिनिधिले बताउनु भयो । धनकुटामा यसवर्ष घरेलु हिंसा र बलात्कारका घटनामा वृद्धि भएको इन्सेकको तथ्याङ्कले देखाएको छ । इन्सेकको तथ्याङ्कअनुसार चार जनाकोे हत्या, झडपमा दुई जना घाइते, कुटपिट एक जना, मोसो दलेर दुई जनामा दुव्र्यवहार, घरेलु हिंसा ७३ जना, पाँच जना बालिकासहित १४ जना बलात्कारको घटनामा पीडित भएका छन् । बाल यौन दुव्र्यवहारको घटनामा एक जना, बालविबाह घटनामा एक जना, कथित बोक्सीको आरोपमा एक जना, भौतिक संरचनामा क्षति हुँदा दुई जना र सार्वजनिक सेवाबाट एक जना र श्रमको हकबाट एक जना पीडित भएको इन्सेकले जनाएको छ ।

वार्षिक समीक्षा कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनु भयो । इन्सेकले गरेको अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको उहाँले बताउनु भयो । उहाँले समाजमा जान्ने बुझ्ने मान्छेबाटै समाजमा अशान्ति भइरहेको बताउनु भयो । उहाँले आर्थिक आर्जनमा मानिस नलागेसम्म मानवअधिकार उल्लङघन नघट्ने बताउँदै प्रविधिको विकाससँगै आर्थिक विकास भएमा मानवअधिकारको रक्षा हुने बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले मानव अधिकार उल्लङ्घनमा गम्भीर अवस्थामा रहेको चित्रण गरेको बताउनु भयो । उहाँले भएन भन्दा पनि समाधानको बाटो खोज्नुपर्ने बताउनु भयो । जिल्ला समन्वय समिति उपप्रमुख सावित्रा राईले मानव अधिकार उल्लङ्घनका घटना पूर्ण रूपमा निराकरण नहुने बताउँदै कुन ठाउँसम्म पुग्ने भन्ने लक्ष्य राख्नुपर्ने बताउनु भयो । मानव अधिकार उल्लङ्घनमा सबैतिर समस्या भएकोले सबैले ध्यान दिनुपर्ने बताउनु भयो । धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनालले मानव अधिकार उल्लंघनका घटना बढ्नुले समाज कता जाँदै छ भनेर चित्रण गरेको बताउँदै घर टोलबाट नै गम्भीर बन्नुपर्ने बताउनु भयो । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायामाझीले मानव अधिकार संरक्षण प्रवद्र्धनमा सबैले चासो दिनुपर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अनिलकुमार शाहले प्रहरीले मानवअधिकारलाई ध्यानमा राखेर काम गरिरहेको जानकारी दिनुभयो । नेपाली कांग्रेश धनकुटाका सचिव विजयसन्तोषी राई, नेकपा एमाले धनकुटाका कार्यालय सचिब नैन विश्वकर्मा, नेकपा माओवादी केन्द्र धनकुटाका प्रदेश कमिटि सदस्य विष्णुमाया कन्दङ्वा, राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटा संयोजक बालानन्द दाहाल, जनता समाजवादी पार्टी धनकुटा सचिब डम्बर कटुवालले मानव अधिकारी मैत्री बन्न आवश्यक रहेको बताउनुभयो । उद्योग वाणिज्य संघ धनकुटा वरिष्ठ उपाध्यक्ष तारा तितुङ, महिला पुनस्थापना सेवा केन्द्रकी सदस्य शुक्रि राई, हुसाडेक नेपालका सचिब खेमराज थापा, नेपाल आदिवासी जनजाति महासंघ धनकुटा अध्यक्ष सञ्जयसन्तोषी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश अध्यक्ष सन्तविर लामाले मानव अधिकार उल्लंघनका घटनामा कमी ल्याउन कसको के काम भनेर नै लाग्नुपर्ने बताउँदै सबैको पहल आवश्यक रहेको बताउनु भयो । उहाँहरुले मानव अधिकारको अवस्थाका विषयमा जानकारी दिई यस्ता कार्यक्रमले समाजमा जनचेतना अभिबृद्धि गर्ने बताउँदै महिला हिंसाका घटना बढेको बताउदै तीनै तहको सरकारले महिला हिंसा न्युनिकरणमा बजेट खर्चने बेला आएको बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवअधिकार एलाइन्स धनकुटा अध्यक्ष केदार दाहाल मानव अधिकार घोषणापत्र र यसको कार्यान्वयन, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले धनकुटामा मानव अधिकारको अवस्था सहित समिक्षा प्रतिवेदन र पर्डेप नेपालका खिन्द्र अधिकारीले सहिदभूमि गाउँपालिकाका सञ्चालित न्याय पहुँच कार्यक्रमका गतिविधी र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । पत्रकार, सामाजिक अभियान्ता, सुरक्षा निकाय, राजनितिक दलका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधि लगायत गरि ४५ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईले गर्नुभएको थियो ।

ईश्वर थापा