नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

पर्वत । २०८० पुस ३ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रममा पर्वतमा पुस ३ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा पर्वत जिल्लाका जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले मानवअधिकार संरक्षण सवैको दायित्व भएको बताउनुभएको छ । उहाँले मानवअधिकार मुलुकको मुख्य मान्यता रहेको बताउँदै त्यसको संरक्षणका लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । विकले इन्सेकले गाउँका कुना कुनामा पुगेर घटना अभिलेख गर्नुपर्ने बताउनुभएको थियो । उहाँले दलित समुदायका व्यक्तिहरु बढि मात्रामा पीडित र पीडक देखिएको बताउँदै लक्षित समुदायमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र आफू त्यसका लागि तयार रहेको समेत बताउनुभयो ।

   

इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापा का अनुसार सन् २०२३ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो वर्षमा ३८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । थापाले पर्वतमा घरेलु हिंसाका २२ सहित बालिका बलात्कार तथा यौन दुर्व्यवहारका नौ, महिला बलात्कार तथा यौन दुर्व्यवहारका चार र दुई ओटा कुटपिटका घटना प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य माया अधिकारीले इन्सेकले अभिलेखिकरण गरेका घटनाहरु जायज भएको बताउँदै दुरदराजसम्म इन्सेक पुगेर लुकेका घटनाहरुलाई पनि उजागर गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले इन्सेकको कार्य प्रभावकारी भएको बताउँदै मानवअधिकार उल्लघंनका घटना न्यूनिकरण गर्न सबैले चासो दिनुपर्ने बताउनुभएको थियो ।

सन्तोष थापा