नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

अर्घाखाँची । २०८१ असार ८ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्घाखाँचीमा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार ७ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म भएका २३ ओटा घटना प्रस्तुत भएको थियो । प्रस्तुत घटनाहरूमा बलात्कार तीन ओटा, यौन दुर्व्यवहार दुई ओटा, दुर्व्यवहार चार ओटा, हत्या दुई ओटा, बालविवाह एक ओटा, बहुविवाह एक ओटा, कुटपिट दुई ओटा र घरेलु हिंसा आठ ओटा रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले इन्सेकले आफ्नो अभिलेखमा अभिलेखीकरण गरेका घटना विवरणले सरकारी वा गैरसरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई अझ जिम्मेवारी भएर काम गर्ने निर्देश समेत गरेको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकार हननका घटना अभिलेख र तथ्याङ्क सङ्कलन मात्र नगरेर मानव अधिकार हनन् र ज्यादति कम गर्ने जनचेतना जगाउने, सन्देसमुलक कार्यक्रमका आयोजना गरेर छलफल गराउन आवश्यक भएको कुरामा जोड दिनुभयो ।

   

सन्धिखर्क नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक मिश्रा आचार्यले जिल्लामा यौन दुर्व्यवहार, बलात्कार जस्ता अपराधजन्य घटना शिक्षित र बौद्धिक भनिएका व्यक्तिबाट बढी भइरहेको बताउनु भयो । यस किसिमका अपराधिलाई कतै कसैको प्रभावमा नगरी कार्वाहीको दायरामा ल्याउनैपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दुर्गा देबी न्यौपानेले महिला हिंसा, यौन दुर्व्यवहार, बलात्कार जस्ता घटना कम गर्दै जान स्थानीय तहमा चेतनामूलक कार्यक्रम मार्फत सबैलाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो ।

स्थानीय न्यायिक समिति महिला बालबालिकाको सवालमा प्रभावकारी काम गर्दै जाने हो भने घरेलु हिंसाका उजुरी जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कम हुने सम्भावना देखिने जिल्ला प्रहरी कार्यालयका वरिष्ट इन्स्पेक्टर श्याम कुमार श्रीसले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष तथा अधिवक्ता कृष्णबहादुर भुसाल, नेपाल पत्रकार महासङ्घ प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला समन्वय समितिका नायब शुब्वा बिनोद कुँवर, सन्धिखर्क नगरपालिका मेलमिलाप सहजकर्ता रामचन्द्र पोख्रेल, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष ठाकुर अधिकारी, अन्तरपार्टी महिला सञ्जालका सचिव दिपा आचार्य, महिला मानव अधिकार रक्षक सञ्जालका सचिव कमला भुसाल, दलित महिला सङ्घका अध्यक्ष मिना नेपाली, दलित अधिकार सञ्जालका संयोजक विष्णु परियार, लगायतले मन्तव्य राख्नुभएको थियो ।

कुलबहादुर नेपाली