नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७७ पुस ६ गते

 

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशनको पूर्व समीक्षा कार्यक्रम पुस ६ गते नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको छ । सन् २०२० को जनवरी देखि डिसेम्बर १५ सम्म नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले समीक्षा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि एवंम् नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले एक वर्षको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको लिपिबद्ध रुपमा अभिलेखिकरण गरेको भन्दै इन्सेकलाई आभार व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ को कारण सिर्जित समस्या र यो बिचमा भएका घटनाहरुको सङ्ख्या बढी रहेको भन्दै विभिन्न घटनाहरुमा मिलापत्र हुने गरेको जानकारी पाए त्यसमा संलग्नलाई कारबाही गरिने बताउनुभयो ।

कानुन र न्यायीक प्रक्रियाको बारेमा जानकारी नभएकै कारण गाउँहरुमा हुने हिंसा र मानव अधिकार हनन्का घटनाहरु मुलप्रवाहीकरणमा आउन नसकेको भन्दै उहाँले जिल्लामा स्थानीय तहहरुको सहकार्यमा बालबालिका र किशोरकिशोरीलाई अधिकार र कानुनको बारेमा जानकारी गराउनको लागि गाउँ केन्द्रीत अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी प्रकाश मल्लले मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने घटनाहरुको अर्थ दिर्घकालिन हुने भएकाले यसमा समावेश गरिने घटना र त्यसको न्यायीक प्रक्रियाबारे सम्पूर्ण विवरण समावेश गर्न सुझाव दिनुभयो । जिल्ला बाल न्यायीक समितिका सदस्य बिद्रोही गिरीले जिल्लामा बाल यौन दुर्व्यवहार र बलात्कारका घटनाहरुमा समेत मिलापत्र हुने गरेको पाइएको भन्दै त्यसलाई खबरदारी र मुलप्रवाहिकरणमा ल्याउन सरोकारवाला पक्ष सबै गम्भीर बन्न आग्रह गर्नुभयो ।

इन्सेक प्रतिनिधि डुम्रेद्वारा प्रस्तृत प्रतिवेदनमा राज्य पक्षबाट गिरफ्तारीका तीन ओटा, प्रहरीको गोली लागेर घाईते एक ओटा, गैरराज्यपक्षबाट कुटपिट तथा दुर्व्यवहार दुई ओटा, हत्या दुई ओटा बालअधिकारमा बलात्कार, यौन दुर्व्यवहारका १९ ओटा र विद्यालयमा कुटपिट एक गरी २० ओटा, महिला बलात्कार तथा बलात्कारको प्रयासका सात ओटा, महिला हिंसा सम्बन्धी १३ ओटा र सम्पत्ति क्षति सम्बन्धी दुई ओटा घटना गरी ५० ओटा घटना अभिलेखिकरण गरिएको थियो ।

तिर्थराज डुम्रे