नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

चितवन । २०८१ असार २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले ०८१ असार १९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समिति चितवनको हलमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधिले सन् २०२४ जनवरीदेखि हालसम्म ६ महिनाको जिल्लाको मानव अधिकार अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

यसबीचमा जिल्लामा जम्मा ४२ ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना इन्सेकले अभिलेख गरेकोमा बाल यौन दुरुपयोगको १३ ओटा घटना, बालिका बलात्कारको ११ ओटा, महिला बलात्कारको ६ ओटा, महिला बलात्कार प्रयासको दुई ओटा, कर्तव्य ज्यानतर्फ दुई ओटा, बहुविवाहका सात ओटा र मानव वेचविखनका एक ओटा घटना अभिलेख भएको जिल्ला प्रतिनिधिले जानकारी गराउनु भयो ।

समीक्षा कार्यक्रममा पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष प्रकाशमणी ज्ञवालीले बालिकाहरू यौन हिंसाको घटनाबाट पीडित भएको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

प्रेस चौतारीकी केन्द्रीय सदस्य प्रतिमा सिलवालले बहुविवाहका घटनाका कारणा अदालतमा सम्बन्ध विच्छेदको घटना पनि बढेको र यसले परिवारमा नकरात्मक असर पारेको बताउनुभयो ।

दिपेन्द्र अधिकारी