नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा सम्पन्न

सिन्धुपाल्चोक । २०८१ असार १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार १९ गते चौतारामा सम्पन्न भयो । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिद्वारा सन् २०२४ को पहिलो अर्धवार्षिकमा सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित ४७ ओटा घटना प्रस्तुत भएको थियो । कार्यक्रममा प्रस्तुत घटनाहरूमा व्यक्ति हत्याका चार, बालअधिकारसँग सम्बन्धित घटना १०, महिला अधिकारसँग सम्बन्धित २८, जातिय विभेद एक, कारागार भित्र मृत्यु एक, शिक्षकलाई कार्यस्थलभित्रै कुटपिट एक, कुटपिट अंगभंग तथा ज्यानमार्ने उद्योग दुई गरी ४७ ओटा घटना रहेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी मानव अधिकार संरक्षणमा सधै संवेदनशील भएको बताउनुभयो ।जिल्ला अदालतका श्रेष्तेदार शारदादेवी पौड्यालले महिलाहरूको मानव अधिकार संरक्षणमा सरोकारवाला निकायहरूको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

   

जिल्ला सरकारी वकील कार्यालय प्रमुख उर्मिला दहालले मानवअधिकारसँग सम्बन्धित सबै विषयहरू एकअर्कासँंग सम्बन्धित भएकाले सचेतनामा जोड दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका टीका सुवेदीले स्थानीय न्यायीक समितिले सम्पादन गरेका देवानी प्रकृतिका मुद्दाहरूमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताउनुभयो । अधिवक्ता चन्द्रकुमार बस्नेतले इन्सेकले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको अनुगमनमा जोड दिनुपर्ने सुझाव दिनुभयो । जिल्ला कारागार कार्यालयका प्रमुख रामबहादुर सार्कीले नौ जना महिला राख्ने क्षमता भएको बन्दीगृहमा १ सय ४८ जना पुरुष कैदी बन्दी राख्नुपर्दा समस्या भएको बताउनुभयो । कार्यक्रममा जनजाति महासङ्घ, महिला अधिकारकर्मी, जिल्लामा क्रियाशिल पत्रकार तथा कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

नातिबावु धिताल